
काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा भ्रामक र हल्लाजन्य समाचार नफैलाउन आग्रह गरेको छ। हालको विषम परिस्थितिमा जनमानसमा डर र त्रास फैलाउने उद्देश्यले पुराना घटनाका तस्बिर प्रयोग गरी भ्रामक समाचार प्रवाह भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार अन्य देशमा घटेका पुराना हिंसात्मक तस्बिरलाई प्रयोग गरी “बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला” भन्ने शिर्षकसहित समाचार फैलाइएको पाइएको छ। यसरी गलत सूचना प्रसारणले आन्दोलनलाई थप भड्काउन सक्ने भएकाले यस्ता गतिविधि नगर्न तथा नगराउन सबैलाई अनुरोध गरिएको छ।
नेपाल प्रहरीले भनेको छ,
“अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइएको सम्बन्धमा हाम्रो ध्यानाकर्षण भएको छ। यस विषम परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना नगर्न र नगराउन सबैलाई अनुरोध गर्दछौं।”
प्रहरीले नागरिकलाई सचेत रहन र यस्ता समाचारको सत्यता पुष्टि नगरी साझा नगर्न पनि अपिल गरेको छ।