जेठ २४। एडुब्रिज एलायन्स (Edubridge Alliance) को आयोजनामा सञ्चालित दुईदिने निरन्तर मूल्याङ्कन प्रणाली (Continuous Assessment System–CAS) सम्बन्धी शिक्षक तालिम सम्पन्न भएको छ।
एडुब्रिज एलायन्सका अध्यक्ष कृष्ण शर्माको अध्यक्षता तथा प्याब्सन नवलपरासीका अध्यक्ष डम्बरबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा कक्षा १ देखि ५ सम्म अध्यापनरत विभिन्न विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर मूल्याङ्कन प्रणाली प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले विद्यार्थीको सिकाइ उपलब्धिलाई केवल परीक्षामार्फत नभई निरन्तर अवलोकन, सहभागिता र व्यवहारगत पक्षका आधारमा मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यस्ता तालिमले शिक्षकहरूको व्यावसायिक क्षमता विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।
त्यस्तै, लुम्बिनी प्रदेश प्याब्सनका प्रमुख सल्लाहकार रामप्रसाद पाण्डे ले तालिममा प्राप्त ज्ञान, सीप र अनुभवलाई कक्षाकोठामा व्यवहारिक रूपमा कार्यान्वयन गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो। उहाँले सिकाइलाई विद्यार्थीमैत्री, प्रभावकारी र उपलब्धिमूलक बनाउन निरन्तर मूल्याङ्कन प्रणालीको सफल कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
यसैगरी, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य ले गुणस्तरीय शिक्षा निर्माणमा शिक्षकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै समयानुकूल शिक्षण विधि र मूल्याङ्कन प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो। शिक्षाको गुणस्तर सुधारमार्फत सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न यस्ता तालिमहरू उपयोगी हुने उहाँले बताउनुभयो।
दुई दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक चन्द्र अधिकारी ले निरन्तर मूल्याङ्कन प्रणालीको अवधारणा, कार्यान्वयन प्रक्रिया, मूल्याङ्कनका विधि तथा व्यवहारिक पक्षबारे सहजीकरण गर्नुभएको थियो।
एडुब्रिज एलायन्सका सचिव नेत्र रिजाल का अनुसार तालिममा आबद्ध विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यापनरत शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमबाट शिक्षकहरूलाई निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक ज्ञान र सीप हासिल भएको विश्वास व्यक्त गरिएको छ। कार्यक्रम सञ्चालन एडुब्रिज एलायन्सका सचिव नेत्र रिजालले गर्नुभएको थियो।
