नवलपरासी । पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको पछिल्लो अभिव्यक्तिले जिल्लास्थित नेपाली कांग्रेसभित्र देखिएको अवसरवादी प्रवृत्तिमाथि बहस सुरु गराएको छ।
अन्सारीले आफ्नो स्टाटसमार्फत विगतका विभिन्न निर्वाचनहरूमा पार्टीभित्रकै केही व्यक्तिहरूले कसरी अन्य चुनाव चिन्हलाई सहयोग गरेको तथा बाह्य शक्तिसँग साँठगाँठ गरेको विषय उल्लेख गर्दै दोहोरो चरित्रमाथि प्रश्न उठाएकी छन्। उनको अभिव्यक्तिलाई धेरै कार्यकर्ताले पार्टीभित्रको वास्तविकता बाहिर ल्याउने प्रयासका रूपमा लिएका छन्। उनले चुनावका बेला पार्टीलाई कमजोर बनाउनेहरू अहिले आफूलाई “शुद्ध कांग्रेसी”को रूपमा प्रस्तुत गर्न खोजिरहेको भन्दै व्यङ्ग्य गरेकी छन्।
अन्सारीको यो टिप्पणी विशेषगरी चुनावका समयमा फरक–फरक शक्ति केन्द्रसँग निकटता राख्ने र अहिले फेरि पार्टी नेतृत्वको दाबी गर्ने व्यक्तिहरूप्रति लक्षित रहेको बुझिएको छ। यसैबीच, केही नेताहरूले अन्य दलबाट टिकटको बार्गेनिङ गरेको तथा स्थानीय स्तरमा फरक राजनीतिक वातावरण बनाउन खोजेको विषयसमेत सार्वजनिक भएपछि कार्यकर्ता पंक्तिमा चर्चा चुलिएको छ। “आफ्नो आङको भैंसी नदेख्ने” प्रवृत्तिलाई संकेत गर्दै अन्सारीले पार्टीभित्रैबाट अरूमाथि आरोप लगाउनेहरूलाई आत्मसमिक्षा गर्न सुझाव दिएकी छन्। उनको अभिव्यक्तिपछि कांग्रेस कार्यकर्ताबीच पार्टीभित्रको अनुशासन, निष्ठा र नेतृत्वबारे नयाँ बहस सुरु भएको बताइएको छ।
