बुटवलमा ४४ औँ मगर दिवस तीनदिने कार्यक्रमसहित मनाइने

बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४४ औँ मगर दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ। मगर समुदायको मौलिकता, पहिचान र अधिकारका सवाललाई उजागर गर्ने उद्देश्यसहित मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी तीनदिने कार्यक्रम सार्वजनिक गरिएको हो।

२०३९ साल फागुन १५ गते सम्पन्न मगर समुदायको पहिलो राष्ट्रिय सम्मेलनको स्मरणमा प्रत्येक वर्ष फागुन १५ गते ‘मगर दिवस’ मनाउने परम्परा अनुसार यस वर्ष पनि दिवस मनाउन लागिएको हो। कार्यक्रममा भाषा, संस्कृति, इतिहास र पहिचान संरक्षणका विषयलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

नेपाल मगर संघ रुपन्देही का अध्यक्ष थर्कबहादुर बारघरेले लुम्बिनी प्रदेशमा मगर समुदायको उल्लेखनीय उपस्थिति रहेकाले भाषा तथा सांस्कृतिक संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए। उनले मगर भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने व्यवस्था, विद्यालय तहमा मगर भाषामा शिक्षा सञ्चालनको सहज वातावरण तथा समावेशी सिद्धान्तको प्रभावकारी कार्यान्वयनमा जोड दिए। साथै, फागुन १५ गते सार्वजनिक बिदा घोषणा गर्न मागसमेत गरिएको छ।

दिवसको अवसरमा फागुन १५ गते बिहान बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने सोही दिन दीपप्रज्वलन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। फागुन १६ गते सरसफाइ तथा सामुदायिक भेटघाट कार्यक्रम र फागुन १७ गते मूल समारोह आयोजना गरिने आयोजकले जनाएको छ।

आयोजक समितिका अध्यक्ष लुमबहादुर रानामगरले मगर समुदायको एकता, पहिचान संरक्षण तथा समावेशी राष्ट्र निर्माणका लागि मगर दिवस महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सम्पूर्ण समुदाय, बुद्धिजीवी, पत्रकार तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरे।

संघले मगर दिवसलाई केवल सांस्कृतिक उत्सवका रूपमा नभई समुदायका हक–अधिकार, भाषा र पहिचानका विषयमा बहस र सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा मनाइने जनाएको छ।