भरतपुर मेयर कप बुद्धिचाल प्रतियोगिता सम्पन्न

भरतपुर – भरतपुर मेयर कप बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । भरतपुर महानगर खेलकुद बिकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

 

दुई दिन चलेको प्रतियोगितामा ड्रिम्स स्कुलका सत्यम शर्मा प्रथम भएका छन् । उनले ट्रफीसहित १२ हजार रुपैयाँ प्राप्त गरेका छन् । विरेन्द्र बहुमुखि क्याम्पसका कृष्णप्रसाद तिवारी दोस्रो हुँदा नारायणी मोडलका युगपुरुष घिमिरेले तेस्रो स्थान तथा अरोमाका अंकित तिवारीले चौथो स्थान हासिल गरेका छन् । उनीहरुले क्रमश: दश हजार, सात हजार पाँच सय र पाँच हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन् ।

 

यस्तै अंकुरम एकेडेमीका अमिश सुवेदी पाँचौ र नारायणी माविका सन्देश श्रेष्ठ छैठौं भएका छन् । उनीहरुले क्रमश: चार र तीन हजार पाँच सय प्राप्त गरेका छन् । प्रतियोगितामा विरेन्द्रका सुशान शर्मा सातौं, ओमशान्तिका रन्जित क्षेत्री आठौं, अरोमाका कुशल पाण्डे नवौं तथा विरेन्द्रका सुमित सुवान दशौं भएको समितिका अध्यक्ष जयदेव पौडेलले जानकारी दिए । उनीहरुले जनही दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन् ।

 

 

कक्षा १० तर्फ ओमशान्तिका बिहान घिमिरे उत्कृष्ट खेलाडी घोषित हुँदा १२ तर्फ पोलार स्टारका सन्तोष खड्का तथा महिलातर्फ सनराईजकी मिनिषा घिमिरे उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले ट्रफीसहित जनही दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन् ।

 

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की, आयोजक भरतपुर महानगर खेलकुद बिकास समितिका अध्यक्ष जयदेव पौडेललगयातले पुरस्कार वितरण गरे । समापन समारोहका प्रमुख अतिथि कार्कीले बुद्धिचाल ईतिहास बोकेको प्रतियोगिता भएको बताए । यसले विद्यार्थीको बौद्धिक क्षमता वृद्धिमा पनि टेवा पुग्ने उनको भनाइ थियो ।