बाँके बाल सुधार गृहमा हिंसात्मक झडप, पाँच जनाको मृत्यु

नेपालगञ्ज । बाँकेस्थित बाल सुधार गृहमा गएराति भएको हिंसात्मक झडपमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

बाँकेको बैजनाथ गाउँपालिका–१, नौबस्तास्थित बाल सुधार गृहमा कैदीबन्दीबीच सामान्य विवादबाट सुरु भएको झगडा एकाएक हिंसात्मक रुप लिँदा ठूलो संख्यामा घाइते समेत भएको बताइएको छ। प्रहरी स्रोतका अनुसार, घाइतेमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरूलाई उपचारका लागि भेरी अस्पताल पुर्याउने क्रममा नै ज्यान गएको जनाइएको छ।

घटनापछि बाल सुधार गृहको वरपर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको छ भने थप घटनालाई रोक्न सुरक्षाकर्मीले पूर्ण नियन्त्रणमा लिएको प्रशासनले जनाएको छ।

स्थानीयवासीका अनुसार बाल सुधार गृहमा लामो समयदेखि कैदीबन्दीबीच आपसी वर्चस्व र समूहगत द्वन्द्वका कारण तनाव सिर्जना हुने गरेको थियो। गएरातिको झडप पनि त्यसैको निरन्तरता भएको अनुमान गरिएको छ। तर, आधिकारिक रूपमा घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यसअघि देशका विभिन्न कारागारमा कैदी भाग्ने, तोडफोड गर्ने र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने घटनाहरू बढिरहेका बेला बाँकेमा यस्तो गम्भीर घटना भएको हो। सुरक्षासम्बन्धी चुनौती थपिएको भन्दै स्थानीय प्रशासनले आकस्मिक तयारीका साथ थप सुरक्षा बल परिचालन गरेको छ।

मृतकहरूको परिचय खुलाइएको छैन। घाइतेहरूको अवस्था गम्भीर भएकाले मृतक संख्या अझ बढ्ने आशंका गरिएको छ।

प्रहरीले घटनास्थलमा कर्फ्यूजस्तै अवस्था कायम गर्दै अनुसन्धान सुरु गरेको छ भने आम नागरिकलाई अफवाहमा नपरी आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ।