ज्ञानेन्द्रको आग्रह- देशभित्रवाट समस्याको समाधान निकालौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला दिनमा भड्किएको आन्दोलन हिंसात्मक र अराजक दिशामा नजान आग्रह गरेका छन् । उनले देशभित्रका समस्याको समाधान पुनः देशभित्रकै बाटोबाट खोज्नुपर्ने धारणा राखेका छन् ।

पूर्वराजाको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै हालको आन्दोलनमा ज्यान गुमाउनु र सयौँ घाइते हुनु अत्यन्तै दुःखद र निन्दनीय रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “जेन–जी पुस्ताका होनहार किशोर–किशोरी र युवा–युवतीहरुले भाद्र २३ गते काठमाडौंसहित देशका प्रमुख शहरमा पोखेको आक्रोश आम चासोको विषय हो ।”

शाहले युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी हिंसात्मक रूप लिनु शान्तिप्रिय नेपाली समाजको मान्यताविपरीत भएको बताए । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका आत्माप्रति राजपरिवारको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

पूर्वराजाले जारी विज्ञप्तिमा पछिल्लो आन्दोलनलाई बाह्य घुसपैठबाट जोगाउनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, “पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक नबनोस्, अराजक नहोस्, र यसमा कसैको घुसपैठ नहोस् भन्ने हाम्रो स्पष्ट धारणा हो ।”

उनले हाल उठेका सुशासन र आर्थिक अनुशासनका मागलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिँदै समस्या समाधानका लागि विदेशी चासो भन्दा पनि देशभित्रकै सहमतिपूर्ण उपाय खोजिनुपर्नेमा जोड दिएका छन् ।