
काठमाडौँ । राजधानीमा चर्किएको जेन–जी आन्दोलन सोमबार झन् आक्रामक बनेको छ । आन्दोलनकारीले सिंहदरबार र संसद भवनमा आगजनी गरेपछि आज महाराजगञ्जस्थित राष्ट्रपति निवास शीतल निवासमा समेत ठूलो आगजनी भएको छ ।
सयौंको संख्यामा पुगेका आन्दोलनकारीले सुरक्षा घेरा तोड्दै शीतल निवास परिसरमा प्रवेश गरेका थिए । उनीहरूले प्रवेशसँगै आगजनी गरेपछि ठूलो धुवाँ र आगोको लप्का उठेको प्रत्यक्षदर्शीले बताएका छन् । यसअघि सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयमा र संसद भवनमा समेत आगजनी भएको थियो ।
आन्दोलनको दोस्रो दिन सार्वजनिक भवनमात्र नभई शीर्ष नेताहरूको निजी निवाससमेत आन्दोलनकारीको निशानामा परेका छन् । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घर, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवाससहित कैयौं मन्त्री र सांसदका घरहरूमा तोडफोड र आगजनी भएको छ ।
यस्तै, ललितपुरको भैसेपाटीस्थित नयाँ बनेको सङ्घीय मन्त्री निवास क्षेत्र र प्रदेश प्रमुख निवाससमेत आन्दोलनकारीले घेराउ गरेपछि उच्च तहका मन्त्री र प्रदेश प्रमुखलाई नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उद्धारपछि मन्त्रीहरुलाई सेनाले आफ्नै ब्यारेकमा सुरक्षित राखेको जनाइएको छ । त्यसपछि आन्दोलनकारीले भैसेपाटीस्थित नयाँ मन्त्री निवासमा पनि ठूलो आगजनी गरेका छन् ।
राजधानीका प्रमुख सरकारी संरचना र नेताहरूको निवासमा एकपछि अर्को आक्रमण भएपछि सुरक्षा निकायमाथि गम्भीर प्रश्न उठेको छ । आक्रोशित आन्दोलनकारी नियन्त्रणबाहिर रहँदा जनजीवन त्रासमय बनेको छ ।