
सिंहदरबारदेखि शीर्ष नेताको निवाससम्म आगजनी, जेन–जी आन्दोलन झनै चर्कियो
काठमाडौँ । जेन–जी पुस्ताद्वारा सञ्चालित आन्दोलन दोस्रो दिन झनै चर्किदैँ गएको छ । सोमबार राजधानीका प्रमुख प्रशासनिक संरचनादेखि शीर्ष नेताहरूसम्मका घर–निवास तोडफोड र आगजनीको शृंखला जारी रह्यो ।
आन्दोलनकारी हजारौंको संख्यामा सिंहदरबार प्रवेश गरी प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयमा तोडफोड र आगजनी गरेका छन् । मुलुकको प्रशासनिक केन्द्र मानिने सिंहदरबारभित्र आगलागीका घटना भएपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच भिडन्त समेत भएको थियो ।
यसअघि दिउँसो संसद भवनमा समेत आन्दोलनकारीले ठूलो आगजनी गरेका थिए । संसद भवन वरिपरि तोडफोडसँगै धुवाँ र आगोको लप्काले वातावरण आक्रान्त बनाएको थियो ।
आन्दोलनकारीको आक्रमण केवल सरकारी संरचनामा सीमित नभई शीर्ष नेताहरुका निवाससम्म पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित आधिकारिक निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घर, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवाससहित कैयौं मन्त्री र सांसदका घरहरूमा तोडफोड र आगजनी गरिएको छ ।
ललितपुरको भैसेपाटीस्थित नयाँ बनेको सङ्घीय मन्त्री निवास क्षेत्रमा समेत आन्दोलनकारी प्रवेश गरेपछि उच्च तहका मन्त्री तथा प्रदेश प्रमुखलाई नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उद्धारपछि मन्त्रीहरुलाई सेनाले आफ्नै ब्यारेकमा सुरक्षित राखेको जनाइएको छ ।
आन्दोलन चर्किएसँगै राजधानीमा सुरक्षा सतर्कता थप कडा पारिएको छ । तर आन्दोलनकारीको भीड नियन्त्रणबाहिर रहेको देखिएको छ । सार्वजनिक तथा निजी सम्पत्ति निरन्तर ध्वस्त पारिँदै गएपछि सर्वसाधारण त्रासमा परेका छन् ।
सार्वजनिक भवनदेखि शीर्ष नेताको आवासमा फैलिएको आगजनी र तोडफोडका कारण राजनीतिक स्थिरता र शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ ।