
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पछिल्ला दिनमा देशभर उग्र बनेका जेनजी पुस्ताका प्रदर्शन र आन्दोलनप्रति प्रतिक्रिया जनाउँदै संयमता अपनाउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै भावुक तर दृढ अपिल गरेका हुन्।
उनले आफ्नो सन्देशमा लेखेका छन्, “तपाईं–हामी सबैले अहिले अत्यन्तै संयमित रहन जरुरी छ। सडकमा उत्रिएको तपाईंको आवाज देशले सुनेको छ। यो समय केवल क्रोध प्रकट गर्ने मात्र होइन, सोच्न र भविष्यको तयारी गर्ने पनि हो। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ, त्यसैले जिम्मेवारी र धैर्यका साथ अघि बढ्न आवश्यक छ।”
बालेनले अझै थप्दै भनेका छन्, “देशलाई परिवर्तन गर्ने शक्ति तपाईंहरुमै छ। तपाईंहरूको संघर्षले नयाँ इतिहास लेखिरहेको छ। त्यसैले निराश नभई, आत्मविश्वासका साथ तयार रहनुहोस्। नेतृत्वको भूमिका तपाईंहरूको काँधमा आउँदैछ।”
उनको यो भनाइलाई धेरैले आन्दोलनरत जेनजी पुस्तालाई शान्त, अनुशासित र दीर्घकालीन सोचसहित अगाडि बढ्न गरेको सुझावका रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत मेयर शाहको सन्देशलाई सकारात्मक स्वागत गरेका छन्।