नेपालमा फेसबुक बन्द सुरु

काठमाडौं । केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले फेसबुक पहुँच रोक्न थालेका छन्। वर्ल्डलिंकले केहीबेरअघिबाट आफ्ना प्रयोगकर्ताहरूका लागि फेसबुक चल्न रोकिएको जानकारी दिएको छ। वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशनअनुसार यस्तो कदम चालिएको बताएका छन्।

उनले भने, “सरकारको अनुरोध अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूमा नियमन गर्न लागिएको हो। यस अनुसार फेसबुक बन्द गरिएको हो।”

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले पनि प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्। उनका अनुसार, “प्रक्रिया क्रमशः अगाडि बढ्दैछ र केही समयभित्र अन्य इन्टरनेट प्रदायक कम्पनीहरूमार्फत पनि फेसबुक पहुँच बन्द हुने छ। प्रयोगकर्ताहरूले केही असुविधा महसुस गर्न सक्छन्, तर यो सरकारको निर्देशनअनुसार गरिनु पर्ने कदम हो।”

विशेषज्ञहरूले भने सामाजिक सञ्जालमा नियमन गर्दा सूचना प्रवाहमा प्रभाव पर्न सक्ने र प्रयोगकर्ताहरूले वैकल्पिक प्लेटफर्म प्रयोग गर्नुपर्ने सम्भावना रहेको बताएका छन्।