
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयप्रति आपत्ति जनाउँदै यसलाई ‘उत्तर कोरिया’ जस्तो कदम भएको टिप्पणी गरेका छन्।
पूर्व सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो विचार राख्दै भनेका छन् कि उनले नियमन प्रविधि मिलाउने र कानुन बनाउने व्यवस्था गर्ने प्रस्ताव अघि सारेको भए पनि सरकारले यसलाई अत्यधिक कडाइका साथ लागू गर्दै सामाजिक सञ्जालमा व्यापक नियन्त्रण बढाएको बताए।
बास्कोटाले स्पष्ट पारेका छन्, “नियमनको प्रविधि मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया जस्तो बनाउने भएछ। विकृति अन्त गर्न सुचनामा बिर्को लगाउने होइन।”
उनले यस कदमले सूचना प्रवाहमा असहजता सिर्जना गर्न सक्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रता सीमित हुन सक्ने विषयमा पनि चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, विकृति रोक्नका लागि कानुनी र प्रविधि व्यवस्थापन गर्न सकिन्छ, तर सम्पूर्ण सामाजिक सञ्जाल बन्द गरेर नियन्त्रण गर्नु समाधान होइन।
विशेषज्ञहरूले भने सरकारको यस्तो कदमले डिजिटल स्वतन्त्रता र नागरिक अधिकारमा असर पर्न सक्ने र वैकल्पिक प्लेटफर्म प्रयोग बढ्ने सम्भावना रहेको बताएका छन्।