बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु

लुम्बिनी, असार २६ ।  आजबाट बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असाढ पूर्णिमा देखि तीन महिनासम्म चल्ने वर्षबासको लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे । राजकिय बिहारमा लुम्बिनी बौद्ध महिला समितिको आयोजनामा तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी होटल संघको सहकार्यमा वर्षबास कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै पूर्व मूख्यमन्त्री चौधरीले लुम्बिनीलाई विश्वशान्तिको मुहानका रूपमा स्थापित गर्न यस्ता धार्मिक गतिविधिहरू प्रभावकारी भएको बताउँदै बौद्ध परम्पराको संरक्षण, प्रवर्द्धन र लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सधैं प्रतिबद्ध रहेको बताए ।

राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्मले वर्षावास परम्पराको ऐतिहासिक महत्त्व, ध्यान र साधनाको अवसरका रूपमा यसको भूमिका र लुम्बिनीजस्तो पवित्र स्थलमा यसलाई निरन्तरता दिनु गौरवको विषय भएको उल्लेख गरे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्म, स्थानीय जनप्रतिनिधिहरू, बौद्ध संघ-संस्थाका प्रतिनिधिहरू, भिक्षु-भिक्षुणी तथा देश-विदेशका श्रद्धालु भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियो ।

वर्षबास भनेको बौद्ध भिक्षु भिक्षु हरूले वर्षायामका तीन महिनासम्म एउटै विहार (गुम्बा) मा बसेर ध्यान, अध्ययन र चिन्तन मनन गर्ने परम्परा हो । भगवान बुद्धले प्रतिपादन गरेको २२७ विनयमध्ये वर्षबास पनि एक हो ।