गण्डकी- गण्डकी प्रदेश सरकारले छ जना हिमाल आरोहीलाई सम्मान गरेको छ । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा आज पोखरामा भएको समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन ज्ञवलीले आरोहीहरुलाई जनही रु ४५ हजार नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको हो ।
सम्मानित हुनेमा सगरमाथा आरोही पर्वतको कुश्मा नगरपालिका-१४ का किरणबहादुर पि.सि., सगरमाथा, मनास्लु र ल्होत्से हिमाल आरोहण गर्नुभएका गोरखा चुमनुब्री गाउँपालिका-१ का नाङसल छ्योटोन लामा, सगरमाथा आरोही कास्कीको माछापुछ्रे गाउँपालिका-४ का किशोर अधिकारी र पर्वतको बिहादी गाउँपालिका-४ का सगरमाथा आरोही देवीप्रसाद न्यौपाने रहनुभएको छ । यसैगरी कञ्चनजङ्गा हिमाल आरोहण गर्नुभएका तनहुँको ऋषिङ गाउँपालिका-२ का अमित थापा र अन्नपूर्ण हिमाल आरोही तनहुँको घिरिङ गाउँपालिका-५ का नवराज रानालाई सम्मान गरिएको हो ।
उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश भित्रने पर्यटकको बसाइ लम्बाउने गरी योजना बनाउनुपर्ने बताउनुभयो । पर्यटनबाट आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जनामा टेवा पुग्ने उहाँको भनाइ थियो । पर्यटनका लागि बेमौसम मानिने याममा पनि पोखरालगायत गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकीय गतिविधि देखिनु सुखद् रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । हिमाल आरोहणमार्फत गण्डकी प्रदेशको पर्वतीय पर्यटन प्रवद्र्धनमा योगदान पुर्याए बापत आरोहीहरुलाई सम्मान गरिएको मन्त्री रिमालले बताउनुभयो । आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने आरोहीलाई सम्मान गरिएको मन्त्रालयका उपसचिव टीकाराम पौडेलले जानकारी दिनुभयो ।
