अरब लिगका महासचिव नाबिल फहमीले सुडानको उत्तर कोर्डोफान राज्यको राजधानी अल ओबेदमा आसन्न मानवीय संकटप्रति चेतावनी दिँदै थप क्षति हुन नदिन तत्काल अन्तर्राष्ट्रिय र क्षेत्रीय कदम चाल्न आह्वान गर्नुभएको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै महासचिव फहमीले अल ओबेदको बिग्रँदो सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।
सुडानको अर्धसैनिक बल ‘¥यापिड सपोर्ट फोर्सेस’ (आरएसएफ) ले शहरलाई घेराबन्दीमा राख्नुका साथै निरन्तर ड्रोन आक्रमण गरिरहेका कारण त्यहाँका ५ लाखभन्दा बढी सर्वसाधारण र हजारौँको संख्यामा रहेका आन्तरिक विस्थापितहरू जोखिममा परेको उहाँले बताउनु भयो । विज्ञप्तिमा उल्लेख भएअनुसार पछिल्ला आक्रमणहरूले बजार, विद्यालय, अस्पतालका साथै खानेपानी र विद्युत् आपूर्ति जस्ता अत्यावश्यक नागरिक पूर्वाधारहरूलाई निशाना बनाएका छन् । यसले सर्वसाधारणको जीवन कष्टकर बनाउनुका साथै मानवीय अवस्थालाई थप भयावह बनाएको छ ।
महासचिव फहमीले शहर वरपर बढ्दो सैन्य परिचालन र आवासीय क्षेत्रहरूमा भइरहेको आक्रमणले यसअघि सुडानकै उत्तर डार्फर राज्यको राजधानी अल फासेरमा देखिए जस्तै बीभत्स अवस्था निम्त्याउन सक्ने भन्दै शतर्क गराउनुभएको छ । उहाँले अल ओबेदलाई बृहत्तर मानवीय र सुरक्षा संकटबाट जोगाउन विश्व समुदायलाई एकीकृत र समन्वयकारी प्रयास थाल्न आग्रह गर्नुभयो । सुडानमा सन् २०२३ अप्रिलदेखि सुडानी सशस्त्र बल र ¥यापिड सपोर्ट फोर्सेसबीच शुरु भएको सत्ता संघर्षका कारण हालसम्म ठूलो जनधनको क्षति भइसकेको छ । यस द्वन्द्वले विश्वकै सबैभन्दा ठूलो मानवीय संकटमध्ये एक पैदा गरेको छ, जसका कारण लाखौँ मानिस विस्थापित भएका छन् भने देशका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएका छन् । पटक–पटकका मध्यस्थता प्रयासहरू भए तापनि हालसम्म स्थायी युद्धविराम हुन सकेको छैन ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
