काठमाण्डौ- संघीय संसदको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधवार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो । बैठकलाई सम्बोधन गर्दै सभापति गजुरेलले ७७ वटै जिल्लाका झन्डै ३ करोड नागरिकका लागि पर्याप्त र शुद्ध खानेपानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा ठोस र ‘कङ्क्रिट’ जवाफ माग गर्नुभयो । उहाँले काठमाडौं उपत्यकालगायत मुलुकभर खानेपानीको समस्या दिनानुदिन विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको उल्लेख गर्नुभयो । समितिले सम्बन्धित आयोजनाका प्रमुखहरू सँग समन्वय गरी चाँडै स्थलगत अनुगमनमा जाने तयारी समेत गरेको छ । यसका लागि समितिले सरोकारवाला निकायहरूलाई आफ्नो प्राथमिकता र योजनाहरू उपलब्ध गराउन पत्राचार गर्ने भएको छ ।
उहाँले भन्नुभयो, ‘आम नागरिकलाई शुद्ध खानेपानी कहिलेसम्म उपलब्ध हुन्छ भन्ने प्रश्नको ठोस उत्तर अझै प्राप्त हुन सकेको छैन । त्यसैले आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजना र समयसीमा (टाइमलाइन) सहितको विवरण उपलब्ध गराउन हामी निर्देशन दिन्छौँ । प्राप्त कार्ययोजनाका आधारमा समितिले नियमन र अनुगमनको प्रक्रिया अगाडि बढाउनेछ ।’
बैठकमा सडक सुरक्षा विधेयक र विपद्का समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ । यस सम्बन्धमा मन्त्रालयबाट कार्य भइरहेको जानकारी प्राप्त भएको र समितिले यसलाई निरन्तर फलोअप गर्ने सभापति गजुरेलले बताउनु भयो ।
