सुनवलमा रहेको महाकवि देवकोटा विद्यालयमा विवाद: तीन दलको आपत्ति, प्रधानाध्यापकलाई अभिभावक भेला तत्काल स्थगित गर्न माग

सुनवल । सुनवल नगरपालिका-४ स्थित महाकवि देवकोटा नमुना माविमा विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद चर्किएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय नेतृत्वले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानाध्यापक खेमलाल शर्मा जोशीले बोलाएको अभिभावक भेला तत्काल स्थगित गर्न माग गरेका छन्।

तीन दलका नेताहरू  नेपाली कांग्रेस सुनवल नगर सभापति सोम बहादुर रायमाझी, नेकपा एमाले नगर अध्यक्ष मुक्ती बहादुर भण्डारी, र राप्रपा नगर अध्यक्ष दिलकुमारी बुढाथोकीले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानाध्यापकको कदमलाई ‘कानूनविपरीत, छलकपटपूर्ण र जालझेलयुक्त’ भन्दै कडा आपत्ति जनाइएको छ।

विद्यालयमा आर्थिक अनियमितता र अनुशासनहीनताको आरोप

विज्ञप्तिमा विद्यालयमा विगतमा भएका आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिहरूलाई ढाकछोप गर्ने प्रयास गरिएको आरोप लगाइएको छ। तीन दलहरूले प्रधानाध्यापकलाई अराजक गतिविधि र गैरकानुनी तरिकाले विद्यालय व्यवस्थापन समिति गठन गर्न खोजेको भन्दै विद्यालयको शान्तिपूर्ण वातावरण बिथोल्ने कार्य नगर्न चेतावनी दिएका छन्।

स्थानीय तह र अदालतको आदेश अवज्ञा गरेको आरोप

विज्ञप्तिमा स्थानीय तहको निर्देशन, अदालतको आदेश, र व्यवस्थापन समितिको निर्णयलाई बेवास्ता गर्दै प्रधानाध्यापकले अभिभावक भेला आयोजना गरेको आरोप लगाइएको छ। नगर शिक्षा समितिले गत माघ २८ गते शिक्षा ऐनको दफा २४(७) अनुसार चार जना अभिभावकलाई तोकेको भए पनि प्रधानाध्यापकले मनोमानी ढंगले भेला डाकेको विज्ञप्तिमा उल्लेख छ।

स्थानिय तहका नेताहरूले विद्यालयमा भएको आर्थिक अनियमितताको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै शैक्षिक वातावरणलाई सौहार्द्रपूर्ण बनाउन प्रधानाध्यापकलाई तत्काल विवादास्पद भेला स्थगित गर्न आग्रह गरेका छन्।