देवदह । देवदहमा चैत्र १ गतेदेखि ७ गतेसम्म वन डढेलो नियन्त्रणसम्बन्धी सचेतना अभियान सञ्चालन हुने भएको छ। गाउँ वन समन्वय सञ्जाल रूपन्देही र सव डिभिजन वन कार्यालय शितलनगरको बैठकले सप्ताहव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बुद्ध सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको गौतम बुद्ध राष्ट्रिय उद्यानबाट अभियानको शुभारम्भ गरिने गाउँ वन सञ्जाल रूपन्देहीका अध्यक्ष खेमनारायण अधिकारीले जानकारी दिए। अभियान गाउँ वन समन्वय सञ्जाल रूपन्देहीको आयोजनामा डिभिजन वन कार्यालय रूपन्देही, सव डिभिजन वन कार्यालय शितलनगर तथा विभिन्न सामुदायिक वनहरूको सहकार्यमा सञ्चालन गरिने छ।
सप्ताहव्यापी अभियानको समापन मिलन सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी गरिने जनाइएको छ।
सहायक वन अधिकृत चौधरीले वन डढेलो नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिए। उनले अभियानलाई सफल बनाउन सव डिभिजन वन कार्यालयले पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
बैठक सञ्जालका वरिष्ठ उपाध्यक्ष तेजबहादुर कुवरको स्वागत मन्तव्य तथा सचिव टेकबहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो।
        					        				
            
            
            
            
            