
लुम्बिनी । सैनामैनामा दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लबको आयोजनामा २०८१ माघ २५ देखि पौष ३ गते सम्म प्रतियोगिता हुन लागेको विहिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । खेलको माध्यमबाट बन्धुत्व र आपसि भाइचार विकास गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी दिए । प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब‚नेपाल पुलिस क्लब‚नेपाल ए.पि.एफ क्लब‚ गण्डकी प्रदेश भलिबल संघ‚कोशी प्रदेश भलिबल संघ‚ गल्कोट भलिबल संघ र मणिमुकुन्द भलिबल संघ गरि सात टिमको सहभागिता रहने खेल संयोजक राज कुमार चौधरीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया‚ द्धितिय हुने टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ‚ तृतिय हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ‚सान्त्वना हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैयाँ‚ उत्कृष्ट स्पाइकर‚ डिफेन्डर‚ब्लकर‚सर्भिस‚प्रशिक्षक र सेटरले जनही ७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । खेलमा सहभागी टिमले तीन जना सम्म विदेशी खेलाडी खेलमा समावेश गर्न पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न ५६ लाख ९२ हजार ७ सय ७१ खर्च अनुमान गरिएको र खर्च प्रदेश सरकार‚नगरपालिका‚व्यापारिक संघ संस्था‚सहयोगी दाता र खेलको टिकटबाट व्यवस्थापन गरिने क्लबले जनाएको छ । खेल हेर्नका लागि १ सय २ सय र ३ सय रुपैयाँ प्रवेश सुल्क तोकिएको छ । पत्रकार सम्मेलनमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा‚ उपप्रमुख विना रानाने संयुक्त रुपमा जर्सी र ट्रफी सार्वजनिक गरेका थिए ।