लुम्बिनी, असाेज १२ । रूपन्देहीका अग्रज पत्रकार कर्ण बहादुर कार्कीकाे निधन भएकाे छ । २ वर्षदेखि मृगौलाकाे उपचार गरिरहेका कार्कीकाे ७० बर्षकाे उमेरमा शनिबार पाल्पाकाे तासेन ध्रुवघाटस्थित निवासमा निधन भएकाे हाे । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति, प्रेस स्वतन्त्रता सेनानी समेत रहेका कार्कीले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरू गरेका थिए । जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा काम गरेका कार्कीले २०४५ सालमा तत्कालीन जिल्ला प्रशासनले रूपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीमा दाई कृष्णबहादुर कार्कीको सहयोगमा दैनिक लुम्बिनी पत्रिका दर्ता गरी प्रकाशन थालेका थिए ।
२०४९ सालमा होमनाथ दाहाल पत्रकार महासंघका अध्यक्ष हुँदा कार्की केन्द्रीय उपाध्यक्ष भएका थिए । हक्की स्वभावका कार्कीले पत्रकारीताकाे माध्यमबाट सामाजिक रूपान्तरणमा महत्वपूर्ण भुमिका खेलेका थिए । स्वर्गीय कार्कीकाे बुटलवलकाे मगरघाटमा अन्त्यष्टि गरिएकाे छ ।