अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलडमरूमार्फत आउजाउ गर्ने व्यावसायिक जहाजहरूमा शुल्क लगाउने आफ्नो पूर्वप्रस्ताव फिर्ता लिएका छन् । शुल्कको सट्टा अमेरिकाले खाडी मुलुकहरूबाट ठूलो मात्रामा लगानी भित्र्याउने सम्झौता गर्ने उहाँले बताउनुभएको छ । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले मध्यपूर्वी देशका नेतृत्वहरूसँगको फलदायी वार्तापछि यो निर्णय लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभएको छ, ‘मैले २० प्रतिशतको ‘संयुक्त राज्य अमेरिका शोधभर्ना शुल्क’को सट्टा खाडी मुलुकहरूले अमेरिकासँग गर्ने व्यापार र लगानी सम्झौताहरूलाई प्राथमिकता दिने निर्णय गरेको छु ।’
उहाँले खाडी राष्ट्रहरूले अमेरिकामा ठूलो परिमाणमा लगानी गर्ने र यो विषय आफ्ना लागि सन्तोषजनक रहेको समेत उल्लेख गर्नुभयो । यसअघि ट्रम्पले उक्त रणनीतिक जलमार्गको सुरक्षा गरेबापत अमेरिकालाई शोधभर्ना गराउन ढुवानीमा २० प्रतिशत शुल्क लगाउने प्रश्ताव गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरू इरानबाहेक अन्य सबै मुलुकका जहाजका लागि खुला रहने स्पष्ट पार्नुभयो । यद्यपि, इरानमाथिको जलसेनाको नाकाबन्दी भने निरन्तर रहने उहाँले बताउनु भयो । यसैबीच, राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः शुरु गरिएको विषयमा गत शुक्रबार नै अमेरिकी कंग्रेसलाई औपचारिक जानकारी गराइसक्नुभएको छ ।
युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको महिना दिन पनि नबित्दै दुई देशबीच पुनः द्वन्द्व चर्किएको छ। पछिल्लो समय भएका अमेरिकी हवाई आक्रमण र इरानी प्रत्याक्रमणले वासिङ्टन र तेहरानबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
