
लुम्बिनी, असार १५ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले क्रान्तिको झण्डा झुक्न दिन नहुने बताएका छन्। रुपन्देहीमा आइतबार आयोजित शहीद रमेश यादवको २० औँ स्मृति सभा तथा राष्ट्रिय धान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नेता बरालले शहीदहरूको सपना अझै पुरा नभएकाले क्रान्तिको झण्डा झुक्न दिन नहुने बताए । उनले शहिदको सपना पुरा गर्न नेता कार्यकर्ताले अझै कडा मेहनत गर्नुपर्ने आवश्यकता औंल्याए ।
“दश वर्षे जनयुद्धको बलमा प्राप्त भएका उपलब्धिहरू सामान्य होइनन् । ती उपलब्धिहरूको रक्षा गर्दै नयाँ पुस्तालाई क्रान्तिको इतिहास बुझाउनुपर्छ,” बरालले भने । शहीद र अग्रजहरूको सम्मान नगर्ने समाज कहिल्यै अघि बढ्न नसक्ने उल्लेख गर्दै उनले परिवर्तनका लागि भएका त्याग, तपस्या र बलिदानको उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । बरालले राज्य सञ्चालकहरू शहीदले देखाएको मार्गमा नहिँडेकै कारण समाजमा असन्तुष्टिका स्वरहरू उठ्न थालेको बताए । “शहीद रमेश यादवले देखेको सपना – न्याय, समानता र समावेशीताको समाज निर्माण – अझै पूर्ण रूपमा साकार भएको छैन,” उनले भने ।
कार्यक्रममा शहीद रमेश यादवकी धर्मपत्नी तथा नेकपा माओवादी केन्द्र रुपन्देही इञ्चार्ज सोनिया यादवले श्रीमानको बलिदान स्मरण गर्दै भनिन्, “उहाँले आफ्ना साथीहरूको नाम सेनालाई बताएर बाँच्छु भन्नुभएन, क्रान्तिलाई धोका दिनुभन्दा सेनाको गोली खान तयार हुनुभयो ।” उनले आफू श्रीमानले देखाएको पदचिह्न पछ्याइरहेको उल्लेख गरिन् । माओवादी केन्द्र रुपन्देही संयोजक नारायण जिसी (निर्मल) ले जनयुद्धका क्रममा होनहार नेताहरू गुमाउनु परेको पीडा व्यक्त गर्दै शहीदहरूको सपना साकार पार्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले पार्टी सधैं शहीद परिवारको साथमा रहेको स्पष्ट पारे ।