राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेशको प्रथम कार्यसमिति गठन

नवलपरासी । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेशको प्रथम कार्यसमिति गठन भएको छ । बुटवलमा सम्पन्न स्थापना बैठकबाट गोबिन्द भुषालको अध्यक्षतामा १७ सदस्यीय प्रदेशस्तरीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नवगठित कार्यसमितिको ब–उपाध्यक्षमा अनिता खत्री, उपाध्यक्षमा नमराज पाण्डे चयन भएका छन् । त्यस्तै सचिवको जिम्मेवारी दीपक नेपालीले पाएका छन् भने सह–सचिवमा बिराट पहारी  चयन भएका छन् । कोषाध्यक्षमा बसन्त लम्साल र सह–कोषाध्यक्षमा मनिषा बस्याल चयन भएका छन् ।

यसैगरी कार्यसमितिको प्रवक्तामा हरि बहादुर बी.के. चयन भएका छन् भने महिला विभाग प्रमुखमा रिया बस्नेत नियुक्त भएकी छन् । प्रचार विभाग प्रमुखमा सुदीप गौतम र प्रचार विभाग सचिवमा विवेक रायमाझी चयन भएका छन् । सदस्यहरूमा ऋषि वाग्ले, ओमप्रकाश गुप्ता, विनोद निगम र वीरेन्द्र  गिरी रहेका छन् ।

कार्यक्रम संस्थाको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज तुलसिंह रनपछाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा लोकगायक नारायण बीपी, बसन्त लम्साल तथा प्रमुख अतिथि रनपछाईँ लगायत वक्ताहरूले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उद्देश्य, भूमिका र आगामी कार्यदिशाबारे आ–आफ्नो धारणा राखेका थिए ।

वक्ताहरूले लोक संस्कृति, लोक संगीत तथा सञ्चार क्षेत्रका श्रमिकहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरणमा संगठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नवगठित कार्यसमितिले लुम्बिनी प्रदेशमा रहेका लोक सञ्चारकर्मीहरूलाई एकताबद्ध गर्दै उनीहरूको पेशागत सुरक्षाका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा कलाकारहरूले संगठनले लोक कला, संस्कृति र सञ्चारकर्मीहरूको पहिचान स्थापित गर्न प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए ।