ग्रीनल्याण्ड पब्लिकमा भोलिदेखि साताव्यापी पिबिएल मेला हुँदै

भरतपुर । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा भोलि (मंगलबार) देखि तेस्रो परियोजनामा आधारित शिक्षा (पिबिएल) मेला हुने भएको छ ।

 

स्कुल प्राङ्गढमा हुने मेला एक सातासम्म चल्नेछ । मंसिर २९ गतेसम्म चल्ने मेलामा हरेक दिन विभिन्न कार्यक्रम हुनेछन् । मेलाको पहिलो दिन भोलि महानगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २० विद्यालयहरु सहभागी हुने स्कुलकी प्राचार्य इन्दिरा कार्कीले जानकारी दिईन् ।

 

यस्तै मंसिर २४ गते विज्ञान प्रदर्शनी हुनेछ । जसमा विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु प्रदर्शनीमा राखिनेछ । २५ गते समुदायका लागि स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ । उक्त दिन विद्यालय परिसरमा स्थानीय समुदायको नि:शुल्क स्वास्थ्य परीक्षण गरिनेछ । २६ र २७ गते मिनी पिबिएल मेला हुनेछ । जसमा विद्यार्थीहरुले प्रस्तुति दिनेछन् ।

 

२९ गते मेलाको मुख्य दिन रहेको छ । उक्त दिन विद्यार्थीहरुले आफूले तयार परेका बस्तुहरु प्रदर्शनीमा राख्ने तथा बिक्री गर्नेछन् । सो दिन विद्यार्थीहरुले उत्पादन गरेका धुपबत्ती, साबुन, विभिन्न परिकारका खाजालगायत बिक्री गर्नेछन् । अभिभावकहरु स्वयं उपस्थित भएर आफ्ना बालबालिकाले उत्पादन गरेका बस्तुहरु हेर्न तथा खरिद गर्न सक्नेछन् । यसले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भरताको बाटो देखाउन सहयोग पुग्ने प्राचार्य कार्कीको भनाइ छ ।

 

यस किसिमका कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि उद्यमशिलतामा प्रेरित गर्ने कार्कीको विश्वास छ । अध्ययन बाहेक विद्यार्थीको रुची र प्रतिभा उजागर गर्न पनि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले बताए । स्कुलले बालबालिकालाई समाजप्रति उत्तरदायी हुन सधैं प्रेरित गरिरहेको आचार्यको भनाइ छ । शिक्षालाई जीवनसँग जोड्न विद्यालयमा हरेक शुक्रबार बुकफ्री डे हुँदै आएको पनि उनले जानकारी दिए ।