त्रिवेणीधाममा एक करोड दीप प्रज्वलनसहित श्रीमद्भागवत कथा सुरु हुँदै

कार्तिक ७ । विनय त्रिवेणी गाउँपालिका वडा नम्बर ६ राधाकृष्ण मन्दिर त्रिवेणी धाममा श्रीमद्भागवत कथासहित करोड दीप प्रज्वलन हुने भएको छ।
ऐतिहासिक गीता मन्दिर निर्माणार्थ श्रीहरि आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको चतुर्मास सत्संग तथा श्रीमद्भागवत कथा प्रवचन यहि कार्तिक ९ गतेदेखि १५ गतेसम्म त्रिवेणीधाममा सञ्चालन हुने भएको हो।
श्रीमद्भागवत कथा विश्वकै कान्छी कथावाचिका बालविदुषी सुश्री अनुराधा पाण्डेय ज्यूको मुखारविन्दबाट श्रीमद्भागवत प्रवचन हुनेछ। समारोहको उद्घाटन कार्तिक ९ गते बिहान ११ बजे गरिनेछ भने त्यसअघि कलशयात्रा बिहान १० बजे निकालिनेछ।

प्रत्येक दिन बिहान ६ बजे पूजापाठ, ११ बजे सत्संग र दिउँसो १ देखि ५ बजेसम्म कथा प्रवचन सञ्चालन हुनेछ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा कार्तिक १५ गते हरिबोधनी एकादशीका दिन त्रिवेणी तीरमा १ करोड दीप प्रज्वलन गरिनेछ।

वि.सं. २०८० मा १८ महापुराण कथा, २०८१ मा १८ उपपुराण कथा, र यस वर्ष २०८२ मा चतुर्मास अन्तर्गत महाभारत कथा प्रवचन सञ्चालन भइरहेको प्रतिष्ठानले जनाएको छ।

चतुर्मास यज्ञबाट प्राप्त रकमबाट त्रिवेणीधाममा ऐतिहासिक गीता मन्दिर निर्माण गरिनेछ, जहाँ संगमरमरमा कुँदिएका श्रीमद्भगवद्गीताका ७०० श्लोकहरू भित्तामा टाँसिने छन्।
मन्दिरको बाहिर श्रीकृष्ण र अर्जुनको दिव्य रथ पनि स्थापना गरिने संकल्पकर्ता आचार्य श्री नारायण कृष्ण ज्यूले बताउनुभयो ।

प्रतिष्ठानले सबै भक्तजनलाई यो पुण्य अभियानमा सहभागी भई गीता दर्शन र दीपदानको ऐतिहासिक क्षण साक्षी बन्न आह्वान गरेको छ ।