
कपिलवस्तु । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला बनाउन मानवसेवा आश्रमले सोमबार कपिलवस्तुको तौलीहवामा जिल्लाका स्थानीय तह र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूले नेपाल सरकारले घोषणा गरेको मिति अगावै कपिलवस्तुलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्लाको रूपमा स्थापित गर्न पूर्ण साथ रहने प्रतिबद्धता जनाएका छन्।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले “सडक मानवहरूको संरक्षण हाम्रो जिम्मेवारी हो, यसका लागि जनप्रतिनिधि, कर्मचारी र सहकारी संस्था सधैं तत्पर छन्,” भन्दै सहकार्यको आश्वासन दिए। बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले यो अभियान सरकारकै जिम्मेवारी भएको बताउँदै मानवसेवा आश्रमलाई आभार प्रकट गरे। शिवराज नगरपालिकाका प्रमुख अजय थापा र उपप्रमुख शिवकुमारी चौधरीले आफ्ना पालिकामा सडकआश्रित मानिस नदेखिनु आश्रमको योगदान भएको उल्लेख गर्दै निरन्तर साथ रहने प्रतिबद्धता जनाए।
प्रमुख जिल्ला अधिकारी दिल कुमार तमाङले नेपाल सरकारको नीति–कार्यक्रमअनुसार यस अभियानमा जिल्ला प्रशासनको सक्रिय साथ रहने स्पष्ट पारे। मानवसेवा आश्रमका समर्पित अभियन्ता, केन्द्रीय अध्यक्ष तथा अभियानका परिकल्पनाकार रामजी अधिकारीले “सरकारको घोषणा मिति अगावै कपिलवस्तुलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्लाको परिचय दिलाउने तयारी भइरहेको छ,” भन्दै सबै निकायको सहकार्य अपरिहार्य भएको बताए। यसअघि रोल्पा र प्युठानमा समेत यस्तै अन्तरक्रिया सम्पन्न भइसकेको छ। कपिलवस्तुमा सम्पन्न कार्यक्रममा जिल्लालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्दै लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश बनाउन आधार तयार गर्ने सामूहिक प्रतिबद्धता जनाइएको छ।