
रोल्पा । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला निर्माण गर्ने उद्देश्यसहित रोल्पामा आज बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको समन्वयमा मानवसेवा आश्रम र जिल्लाभित्रका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा जिल्लालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउने सम्बन्धमा सहकार्य गर्ने, नेपाल सरकारले घोषणा गर्ने तोकिएको मिति अगावै सरकारसित मानवमुक्त जिल्लाको परिचय स्थापित गर्ने, संस्थागत प्रतिबद्धता जनाउने तथा आवश्यक स्रोत जुटाउने विषयमा विस्तृत छलफल भएको थियो।
जिल्ला समन्वय समिति प्रमुख सीता आचार्य, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुनमगर, लुङग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापा, त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमडी डाँगी, परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्री, सुनिल स्मृति गाउँपालिका उपाध्यक्ष मिना थापा र गंगादेव गाउँपालिका वडाध्यक्ष प्रेमप्रकाश केसी लगायत स्थानीय जनप्रतिनिधिहरूले मानवमुक्त जिल्ला निर्माण कार्यमा पूर्ण प्रतिबद्धता जनाएका छन्।
सो अवसरमा सरकारी कार्यालयका प्रमुख, स्थानीय संघसंस्थाका प्रतिनिधि, पत्रकार र सरोकारवालासहित करिब ७० जना भन्दा बढीको उपस्थिति थियो। मानवसेवा आश्रमका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार रामजी अधिकारीले कार्यक्रममा आश्रमको दृष्टिकोण प्रस्तुत गर्दै, मानवमुक्त रोल्पा निर्माणमा आश्रमले नीतिगत, योजनागत र कार्यगत सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए। सर्वसम्मत सहमति अनुसार आगामी दिनमा मानवसेवा आश्रम र सरोकारवाला निकायहरूबीच सहकार्य गर्दै रोल्पालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गर्ने निर्णयसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।