नेपाल–बङ्गलादेश दोस्रो मैत्रीपूर्ण खेल स्थगित

काठमाडौं । नेपाल र बङ्गलादेशबीच हुने दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै मंगलबार तय गरिएको खेल स्थगित गर्ने निर्णय गरेको हो।

यसअघि नेपाल र बङ्गलादेशबीचको दोस्रो खेल भोलि साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने तालिका थियो। तर, हाल देशभर राजनीतिक अशान्ति र सुरक्षा स्थिति चुनौतीपूर्ण भएको कारण एन्फाले खेललाई तत्कालका लागि स्थगित गरेको जनाएको छ। एन्फाले जारी गरेको विज्ञप्तिमा खेल स्थगन गर्नु बाध्यतामा आधारित निर्णय भएको उल्लेख छ।

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार दशरथ रंगशालामा सम्पन्न भएको थियो। सो खेलमा दुवै टिमले राम्रो प्रदर्शन गरे पनि गोल गर्न नसक्दा खेल ०–० को बराबरीमा टुंगिएको थियो।

फुटबलप्रेमीहरूले दोस्रो खेलबाट दुवै टिमले आक्रामक खेल प्रस्तुत गर्ने र नयाँ खेलाडीलाई मौका दिने अपेक्षा गरेका थिए। तर, खेल स्थगित भएपछि उनीहरू निराश बनेका छन्। एन्फाले भने परिस्थिति सामान्य भएसँगै खेलको नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ।

नेपाल र बङ्गलादेशबीच पछिल्ला वर्षहरूमा भएका खेलहरू दुवै देशका लागि महत्त्वपूर्ण मानिन्छन्। यी मैत्रीपूर्ण खेलहरू दुवै टिमका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव हासिल गर्ने अवसर हुने भएकाले विशेष ध्यानाकर्षण हुने गर्छ।

हालै सम्पन्न पहिलो खेलपछि दुवै देशका प्रशिक्षकहरूले आफ्नो टिमले पाएको अनुभवलाई सकारात्मक ठहर गरेका थिए। बङ्गलादेशी प्रशिक्षकले आफ्नो खेलाडीहरूको फिटनेस स्तरप्रति सन्तोष व्यक्त गरेका थिए भने नेपाली प्रशिक्षकले गोलको अवसर गुमाएकोमा सुधार गर्ने बताएका थिए।

दोस्रो खेल स्थगित भएपछि अब दुबै टिमहरू स्वदेश फर्कने तयारीमा लाग्ने वा नयाँ मिति तोक्नेबारे एन्फा र बङ्गलादेश फुटबल सङ्घबीच छलफल हुने जनाइएको छ।