
रुपन्देही । सिमसार क्षेत्रमा सूचीकृत गजेडी ताल पछिल्लो समय लोकप्रिय पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । आन्तरिक मात्र नभई बाह्य पर्यटकहरू समेतको आकर्षणको केन्द्र बन्दै गएको यो ताल प्राकृतिक सौन्दर्य, जैविक विविधता र शान्त वातावरणका कारण चर्चित बन्दै गएको हो । तेह्र हेक्टर क्षेत्रफलमा फैलिएको गजेडी तालमा विभिन्न प्रजातिका चराचुरुंगी, स्थानीय माछा, हाँस, बट्टै, बकुल्ला लगायत लोपोन्मुख जीवजन्तुहरूको बासस्थान समेत रहेको छ ।
तालको आसपास निर्माण भएका सुन्दर संरचनाहरूले तालको सौन्दर्यमा थप आकर्षण प्रदान गरेका छन् । स्थानीयका अनुसार तालको संरक्षण र व्यवस्थापनमा ध्यान दिन सके पर्यटन मार्फत यस क्षेत्रका नागरीकको जीविकोपार्जनको सशक्त माध्यम बन्न सक्छ । ताल वरिपरि होमस्टे सञ्चालन गर्ने दीर्घ योजना पनि अगाडि सारिएको छ । जसले पर्यटकको बसाइ लम्ब्याउन र स्थानीय अर्थतन्त्र सशक्त बनाउन योगदान पुराउने विश्वास सथानीयले लिएका छन् ।
यस क्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना आवश्यक भएको उल्लेख गर्दै स्थानीयवासी तथा सरोकारवाला निकायहरूले तालको सरसफाइ, वातावरणीय संरक्षण र पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने बताएका छन् । सिमसार क्षेत्रलाई व्यवस्थित रूपमा पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले हालसालै अध्ययन, अनुसन्धान तथा योजनात्मक प्रयासहरू पनि सुरु भएका छन् । सरोकारवाला निकायहरूले तालको दीर्घकालीन विकासका लागि नीति तथा योजना स्पष्ट पारेर अघि बढ्नुपर्ने देखीन्छ ।