पर्वत /नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलाई निर्माण ब्यवसायी राजेन्द्र भण्डारीले मार्ने धम्की दिएका छन् ।
समाचार प्रकाशित गरेको बिषयमा भण्डारीले अध्यक्ष तिवारीलाई ज्यान मार्ने धम्की दिएका हुन ।
नागरिक दैनिकका पर्वत सम्बाददाता समेत रहेका तिवारीलाई किन समाचार छापेको भन्दै बिहिबार ९८५१०१०४३३ नम्बरको मोबाइलबाट फोन गरेर पर्वत आएर मारेर फाल्ने धम्की दिएको अध्यक्ष तिवारीले बताए । गत फागुन २० गतेको नागरिक पश्चिमेलीमा निर्माणाधिन पक्की पुल अलपत्र शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दीखोलामाथिको निर्माणाधिन पुल ठेक्का लिएका ठेकदार नै सम्पर्कमा नआएपछि अलपत्र परेको बिषयमा समाचार प्रकाशित भएको थियो । सोही समाचारको बिषयलाई लिएर भण्डारीले फोन गरेर मार्ने धम्की दिएका हुन । विभिन्न अपशब्द बोल्दै भण्डारीले आफुले लिएको ठेक्काको काम गर्ने वा नगर्ने पत्रकारको चासो नभएको चेतावनी दिए ।
‘तेरो घर बनाउने ठेक्का लिएको हो, तलाई के को चासो काम गरौ वा नगरौ’ फोनमा भण्डारीले धम्की दिदै भने–‘पख् तलाई पर्वत नै आएर मारेर फ्याकिदिन्छु ।’ तीनबर्षअघि निर्माण सुरु भएको पुल केही महिनामै ठेक्का लिएका भण्डारीले छाडेर हिँडेपछि पुल अलपत्र परेको छ ।
बिचमै काम रोकेर ठेकेदार सम्पर्कमा नआएको स्थानियले बताएका थिए । मोदी १ का वडा अध्यक्ष गौप्रसाद गुरुङले सडक विभागलगायतका निकायमा पुलको निर्माण कार्य अलपत्र परेको बिषयमा ध्यानाकर्षण गराउँदा समेत निकास ननिस्केको बताए ।
‘न सडक विभागले अर्को विकल्प निकालेको छ, न ठेकेदारले काम सुरु गरेको छ’ उनले भने–‘समयमा पुल नबन्दा पर्वतको भुकताङ्लेका बासिन्दा बर्षायाममा यातायातको सुविधाबाट बञ्चित हुने अवस्था आएको छ ।’ पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेबासीले पक्की पुलको माग गर्दै आएका थिए ।
छ करोड १३ लाख रुपैयाँको लागतमा बन्न लागेको पुल चालु आर्थिक बर्ष ०७४÷०७५ मा सम्पन्न गर्नुपर्ने भएपनि अझै धेरै काम बाँकी रहेको छ । तत्काल काम सुरु गरेपनि तोकिएको मितिमा पुल निर्माण सम्पन्न हुने अवस्था नभएको गुरुङले बताए । ‘एकातर्फको पिल्लरमाथि उठाइएको छ, अर्कोतर्फ सुरु नै भएको छैन’ उनले भने ।
स्थानीय भुलबहादुर पौडेलले आगामी बर्षामा पनि भुकताङ्लेका बासिन्दाले पक्की पुलको प्रयोग गर्न नपाउने अवस्था आएको बताए । ‘काम नरोकिएको भए अहिलेसम्म झण्डै पुल निर्माण अन्तिम अवस्थामा पुग्थ्यो’ उनले भने–‘आउने बर्षामा गाउँसम्मै यातायातको सुविधा लिने भुकताङ्लेबासीको आशा असफल हुने भयो ।’
कार्यालयका सुचना अधिकारी चन्द्रेश्वर साहले ठेकेदार सम्पर्कमा रहेपनि काम अगाडी बढ्न नसकेको बताए । ‘२९ महिनाभित्र निर्माण सक्नुपर्ने पुल हो, अव केही महिनामात्र बाँकी छ, हामीले ठेकेदारलाई ताकेता गरिरहेका छौ’ साहले भने । उनले ठेकेदारलाई काम छिटो सुचारु गर्न पटक–पटक ताकेता गरेपनि बेवास्ता गरेको बताएका छन् ।
यसैबिच नेपाल पत्रकार महासंघ पर्वतले बिज्ञप्ती प्रकाशित गरेको ज्यान मार्ने धम्की दिएको घटनाको निन्दा गर्दै दोषी उपर काबार्हीको माग गरेको छ । सचिब गणेश गिरीले जारी गरेको बिज्ञप्तीमा समाचारको बिषयमा धम्की दिने काम बन्द गर्दै पत्रकारको सुरक्षाको माग पनि गरेको छ । पत्रकाहरुले प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलाई दोषीलाई काबार्हीको माग गर्दै निबेदन समेत दिएका छन ।