गजल
परदेश जादै छु अब घरजग्गा बन्धकी राखेर
तमसुक बनाए बन्धकीमा यो ज्यान नि राखेर।
भाग्यको खेल यस्तै हो राम्रोसँग गएस है बाबु
भन्दै हुनुहुन्थ्यो बाबाले आँसु आँखाभरी राखेर।
आमा रुँदै भन्छिन् आटोपिठो खाउला न’जा छोरा
सम्झाइ बुझाइ गरे मनमा गाठो कसि राखेर।
दुःख पीडा हजारौं लिएर यो मेरो हृदयभरी
टाढा हुँदैछु पर्खाइमा प्रियाको जिन्दगी राखेर।
बिदा दिदै भनिन् बैनीले मेरो दाजुलाई केही नहोस्
निधारमा सप्तरङ्गी टीका, गलामा मखमली राखेर।
धेरै पढेर ठुलो मान्छे बन्छु भन्थ्यो भविष्यमा उ
बाध्य छु छोड्न भाइलाई साहुको चाकडी राखेर।
पैसा टिप्ने सपना र मनमा बिछोडको पीडा लिई
दुःखी हिड्यो दैलोमा आँसुका थोपा तपतपी राखेर।
‘अनिल खत्री’
फलेवास नपा ९, भँगरा पर्वत