About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
मैदा,चामल, चिउरा र खानेतेलको मूल्य घट्यो

न्युज एजेन्सी नेपाल मंगलबार, आश्विन १६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि खाद्यान्न उत्पादकहरूले केही खाद्यान्नको मूल्य घटाएका छन् । पछिल्लो दुई साताको अवधिमा प्रमुख खाद्यान्नहरू चामल, खानेतेल, चिउरा र मैदा तथा आँटाको मूल्य घटेको होलसेल व्यापारीले दावी गरेका छन् ।

होलसेलमा खाद्यान्नको मूल्य घटे पनि उपभोक्तालाई जानकारी नहुँदा खुद्रा मूल्य महँगो भएको हुनसक्ने नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ ।

चिनी, गेडागुडी र दलहन बाहेकका खाद्य वस्तुमा मूल्य ओरालो लागेको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए । ‘चामल, तेल, आँटा पीठो लगायतको खाद्यान्नको मूल्य होलसेलमा घटेको छ । यस वर्ष खासै ठूलो कारोबार पनि छैन।’

बजारमा ठूलो कारोबार समेत नहुँदा होलसेलमा खाद्यान्न सस्तो हुन थालेको टोखा चेम्बर आफ कमर्सका अध्यक्ष एवम् होलसेल व्यवसायी सञ्जय फुयाँलले पनि दावी गरे । ‘पछिल्ला दुई सातामा सबै प्रकारका चामल, खानेतेल, मैदा र चिउराको मूल्य घटेको छ’ फुयाँलले अनलाइनखबरसँग भने, ‘होलसेलमा घटेको मूल्य खुद्रामा पास नभएको हुनसक्छ । उपभोक्ता जागरुक हुनुपर्‍यो ।’

कुन खाद्यान्नमा कति घट्यो मूल्य ?
उनका अनुसार सबै प्रकारका चामलको मूल्य किलोमा २ रुपैयाँले घटेको छ । बजारमा हाल बिक्रीमा रहेको सोना मन्सुली, जिरा मसिनो, लङग्रेनदेखि मोटा चामलको मूल्य प्रतिबोरा ५० रुपैयाँले घटेको उनले बताए । बजारमा धेरै मात्रामा बिक्री भइरहेको जिरा मसिना चामलको मूल्य ब्राण्डअनुसार घटेको छ ।

२३ सय रुपैयाँ पर्ने २५ किलोको बोराको चामलको मूल्य २२ सय ५०, २२ सय रुपैयाँ पर्ने २५ किलोको चामलको मूल्य २१ सय ५० र २१ सय रुपैयाँ पर्ने चामलको मूल्य होलसेलमा घटेर २ हजार ५० रुपैयाँमा झरेको छ । यस्तै, २५ किलोको बोरालाई १९ सय ५० रुपैयाँ पर्ने मन्सुली चामलको मूल्य १०० रुपैयाँले घटेर १८ सय ५० रुपैयाँमा आइपुगेको छ ।

यस्तै खाने तलेको मूल्य होलसेलमै लिटरमा २२ रुपैयाँसम्मले सस्तो भएको छ । दुई सय रुपैयाँसम्म लिटरमा होलसेलमा बिक्री भइरहेको तेलको मूल्य १७८ रुपैयाँसम्मले घटेको छ । तोरीको तेलको मूल्य लिटरमा १० रुपैयाँले घट्दा सबै प्रकारका सूर्यमुखी तेल र भटमासको तेलको मूल्य भने लिटरमा २२ रुपैयाँले घटेको हो ।

नयाँ मूल्यअनुसार १७८ रुपैयाँ होलसेलमा सूर्यमुखी र भटमास तेल, १९० रुपैयाँ लिटरमा तोरीको तेल आइपुगेको छ ।

मैदाको मूल्य पनि किलोमा ३ रुपैयाँले घटेको छ । किलोमा ५९ रुपैयाँ पर्ने मैदाको मूल्य अब ५६ रुपैयाँमा आइपुगेको छ । विभिन्न ब्राण्डको प्याकेजिङमा हुने आँटाको मूल्य पनि किलोमा ३ रुपैयाँले घटेको छ । ६५ देखि ७० रुपैयाँ किलोमा बिक्री भइहेको आँटाको मूल्य अब कम्तीमा ६२ रुपैयाँसम्म आइपुगेको छ । यस्तै चिउराको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको चिउराको मूल्य घटेर ४७ रुपैयाँमा झरेको छ ।

चिनी, दाल र मसला भने महँगियो

दशैंअघि चिनी, गेडागुडी, दलहन र मसलाको भने महँगिएकाे छ ।एक महिनाअघि होलसेलमा ८० रुपैयाँमा पाइने चिनीको मूल्य अहिले १३० रुपैयाँसम्म पुर्‍याइको फुयाँल बताउँछन् । यस्तै, गत वर्ष ५ सय ५० रुपैयाँ किलोमा पाइने जिरा अहिले १ हजार ३५० रुपैयाँ किलो पुगेको छ ।

यस्तै, सबै प्रकारका दालहन र गेडागुडीको मूल्य पनि दशैंको मुखमा बढेको छ । रहर दाल प्रतिकिलो २१० रुपैयाँबाट बढेर २६० रुपैयाँ पुगेको छ । मासको दाल १७० रुपैयाँ किलोबाट बढेर १८० रुपैयाँ पुगेको छ ।

सरकारले आयात प्रतिबन्ध लगाएका कारण केराउ बजारमा अवैध रुपमा कारोबार भएरहेको संघले जनाएको छ । जसको कुनै स्थिर मूल्य छैन ।

खुद्रामा कहिले घट्छ ?

होलसेल व्यापारीहरूले होलसेलमा मूल्य घटेको दाबी गरे पनि खुद्रा बजारमा भने मूल्य नघटेको दाबी खुद्रा व्यापारीहरूको छ । उपभोक्ताले बजार मूल्य थाहा नपाएका कारण महँगी देखिएको टोखा चेम्बरका अध्यक्ष फुयाँल बताउँछन् ।

‘उपभोक्ताले बजार मूल्य थाहा पाउनु पर्छ । कुनै पनि वस्तुमा धेरै नै बढाएर अधिकतम् खुद्रा बिक्री मूल्य लेखिने भएकाले खुद्रा पसलमा मनपरी मूल्य हुन सक्ने देखिन्छ’ उनले भने । होलसेलको मूल्यबारे ज्ञान नभए पछि जति मूल्य पनि भनिन सक्ने भएकाले बजार बुझेर र धेरै कारोबार गर्ने खुद्रा पसलमा किनमेलका लागि चेम्बरले उपभोक्तालाई आग्रह गरेको छ ।

नेपाल खुद्रा व्यापार संघले भने होलसेलमा घटेको भनेको मूल्य प्राप्त भई नसकेको जनाएको छ । संघका सहकोषाध्यक्ष ध्रुव अधिकारीले दशैं चहलपहल पहिलेभन्दा धेरै कम भएको बताए । ‘दशैं भनेर गरिने व्यापार खासै उत्साह छैन,’ अधिकारीले भने, ‘होलसेलमा घटेको मूल्य हामीलाई आइसकेको छैन । जानकारीमा छैन ।’

मूल्य विश्लेषण गर्दै वाणिज्य विभाग

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार मूल्य विश्लेषण गरिरहेको जनाएको छ । होलसेल र खुद्राको मूल्यबारे विभागले एक टोली बनाएर विश्लेषण गरिरहेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए ।

‘बजारमा खुद्रा र होलसेलको मूल्य विश्लेषण गरिरहेका छौं,’ सूचना अधिकारी पोखरेलले भने, ‘हामी प्रतिवेदन आएपछि मात्रै यो विषयमा यकिन भन्न सक्छौं ।’

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com