About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
आज कृष्णजन्माष्टमी, किन मनाइन्छ ?

दर्पण पोष्ट बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

आज विश्वभर हिन्दुधर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मोत्सवको स्मरण गर्दै श्रीकृष्णजन्माष्टमी मनाइरहेका छन् । श्रीकृष्णजन्माष्टमी प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीमा पर्छ । संसार र धर्मको रक्षाका लागि तथा द्वापर युगमा बढ्दै गरेको आसुरी प्रवृत्तिको विनाश तथा सज्जनहरूको रक्षा गरी सनातन धर्मको संरक्षणका लागि भगवान् श्रीकृष्णको अवतरण यस पृथ्वीमा भएको हो । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले आफ्नो अवतारको प्रयोजन आफैँ बताउँछन् :

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
अर्थात् जबजब यस धर्तीमा धर्ममाथि आँच आउँछ म धर्म रक्षाका निम्ति अवतरित हुन्छु । साधु सन्त जनहरूको रक्षा र दुर्जनहरूको संहारको लागि म अनन्त कालसम्म पुनः पुनः जन्मिरहन्छु ।

भगवान् श्रीकृष्णको जन्म र लीलाप्रसङ्ग

द्वापर युगमा उग्रसेन नाम गरेका राजा थिए । उनका छोरा कंस र छोरी देवकी थिइन् । दाजु कंसले आफ्नी बहिनीको विवाह आफ्ना मित्र वसुदेवसँग गरिदिई बहिनी ज्वाँइलाई पु¥याउन बाटोमा जाँदै गर्दा आकाशवाणी सुन्छ “कंस १ तँ जसलाई पुर्याउन जाँदै छस्, उसकै आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ ।”

आकाशवाणी सुनेपछि कंसले आफ्नी बहिनीलाई तत्कालै मार्न तयार भयो । वसुदेवले आफ्ना प्रत्येक सन्तान जन्मने बित्तिकै कंसलाई दिने प्रण गरेपछि मात्र कंस मान्न तयार भयो अनि वसुदेव र देवकी दुवैलाई कारागार चलान ग¥यो । क्रमशः छैटौँ पुत्रसम्मलाई जन्मने बित्तिकै कंसले मा¥यो । देवकीको सातौँ गर्भलाई भने भगवती योगमायाले देवकीको गर्भबाट वसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा सारिदिइन् ।

शेष नागका अवतार मानिने बलरामले देवकीको सातौँ गर्भ भएर पनि रोहिणीको कोखबाट जन्म लिए । सातौँ गर्भ तुहिएको कुरा कंसलाई जानकारी गराइयो । पूर्वजन्ममा भगवान् विष्णुलाई आफ्नो सन्तानका रूपमा प्राप्त गर्ने वर पाएका देवकी र वसुदेवको आठौँ गर्भका रूपमा भाद्र कृष्ण अष्टमीका दिनमा भगवान् अवतरित भए । भगवान्को जन्मसँगसँगै चतुर्भुजरूपमा भगवान् विष्णुको दर्शन देवकी र वसुदेवले प्राप्त गरे ।

श्रीकृष्णले आफूलाई गोकुलको नन्द बाबाको घरमा पुर्याउने र नन्दबाबाको घरबाट छोरीको रूपमा जन्मेकी योगमायालाई कारागार ल्याउने आदेश दिए । वसुदेवको हातका हत्कडीहरू आफैँ छुटे, कंसका सैनिकहरू मस्त निद्रामा परे, ढोकाहरू आफैँ खुले । घनघोर वर्षा भइरहेको कारणले यमुना कुर्लिरहेकी थिइन् तर पनि वसुदेवले बल्लबल्ल गोकुल पुगी यशोदाकी सन्तान योगमायालाई लिएर कारागारमा आए ।

कारागारमा आएपछि बल्ल सबै सैनिक ब्यँुझिए । कंसले बालिकारूपी योगमायालाई मार्न खोज्दा बालिका हातबाट फुत्किई आकाशमा गएर शक्ति स्वरूप भएर “तँलाई मार्ने बालक जन्मिसकेको छ पापी !” भनी अन्तध्र्यान भइन् ।

कंसले त्यो दिन गोकुलमा जन्मिएका सबै बालकहरूलाई मार्यो तर भगवान् श्रीकृष्णको दैवी शक्तिको अगाडि उसको केही जोर चलेन । कंसले कृष्णलाई मार्न पठाएका पूतना, चाणूर र मुष्टिजस्ता कैयौँ राक्षसहरूलाई कृष्णले बध गरे । कृष्णले अनेक लीलाहरू देखाए । जसलाई कृष्णचरित्र पनि भनिन्छ ।

वृन्दावनमा गोपालहरूसँग विचरण गर्नु, दही चोरी खानु, बालसखा सुदामासँग खेल्नु , बाँसुरी बजाएर नाच्नु, इन्द्रदेखि ब्रह्मा सम्मको घमण्ड चूर गर्नु, कालीय नाग दमन गर्नु, एक हप्तासम्म गोवर्धन पर्वत उचाल्नु, १६०० गोपिनीहरूसँग प्रेमक्रीडा तथा रासलीला गर्नु आदि जस्ता अनेकौँ लीलाहरू श्रीकृष्णचरित्र अन्तर्गत पर्दछन् ।

कसंले आफ्नै बुवा उग्रसेन राजालाई बन्दी बनाई आफैँ राजा भएर सम्पूर्ण प्रजाहरूलाई दुःख दिने काम ग¥यो । धर्मकर्मको काम ठप्प भयो । असुरहरूको शक्ति बढ्यो र सज्जनहरूले पीडा अनुभव गर्नुप¥यो । संसार पूरै अस्तव्यस्त भयो ।

कंस, जरासन्ध, शिशुपाल, चाणूर र मुष्टि जस्ता राक्षसहरूको तागत बढ्दै गयो । जगत्मा व्याप्त हिंसा र अशान्तिलाई हटाएर सुख र शान्तिको व्यवस्थापन गर्न भगवान् श्रीकृष्ण अवतरित भएका हुन् ।

भगवान् श्रीकृष्णलाई विष्णुको पूर्णकला अवतार मानिन्छ । श्रीकृष्ण लीलापुरुष हुन् । आफ्नो जीवन कालमा उनले धेरै लीला गरे । कंश, शिशुपाल, चाणूर र मुष्टि जस्ता राक्षसहरूको बध गरे । श्रीकृष्णको अवतारसँगसँगै आसुरी प्रवृत्तिको अन्त्य भयो । पृथ्वीमा सत्य धर्म र अहिंसाले राहत पायो ।

युद्धबाट विरक्तिएका अर्जुनलाई आफ्नो कर्तव्य बुझाउन श्रीकृष्णले कुरुक्षेत्रको रणभूमिमा उपदेश दिए । ती भगवान्का पवित्र वाणीको संग्रहलाई श्रीमद्भगवद्गीता भनिन्छ । यसले बाटो बिराएकाहरूलाई मार्गनिर्देश गर्छ ।

भगवद्गीतामा शुद्ध आचार, शुद्ध विचार र शुद्ध कर्मलाई नै धर्म भनी परिभाषित गरिएको छ । श्रीकृष्णका वाणीहरूको सङ्ग्रह भगवद्गीताको अध्ययन हिन्दूहरूले मात्र नभई यसको महत्त्व बुझेका सबै धर्मावलम्बीले गर्ने गरेको पाइन्छ ।

यिनै भगवान् श्रीकृष्णको शुभ जन्मोत्सवको उपलक्ष्यमा द्वापर युगदेखि नै श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गोकुलका गोप गोपिनीहरूले श्रीकृष्णको नामकरणका दिन विशेष नाचगान गरे । त्यो परम्परा भगवान् शिवजीलाई प्राप्त गर्न पार्वतीले गरेको व्रतोपासनसँग जोडिएर हरितालिका तिज पर्वका रूपमा रुपान्तरित हुन पुग्यो ।

श्रीकृष्ण जन्माष्टमीका दिन विशेष विधिविधानसहित श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । दिनभरि निराहार रहेर भगवान्को नाम सङ्कीर्तन गर्नुका साथै गीता, भागवत आदि पाठ गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानी कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गाई प्रसाद ग्रहण गरेपछि व्रत पूर्ण भएको मानिन्छ ।

यसप्रकार हिन्दूहरूको महान् पर्व श्रीकृष्णजन्माष्टमीले भगवान्को प्रिय बन्नको लागि सदा धर्मको पालना गर्नुपर्ने तथा मन, वचन र कर्म पवित्र राख्नुपर्ने सन्देश दिन्छ । यस्ता पर्वहरूलाई रमझमको रूपमा मात्र नहेरी यिनको मर्म बुझी सत्कर्म गर्न सके सबैको कल्याण हुनेछ, विश्वमा समता, शान्ति र अहिंसाको सुवास फैलिनेछ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com