सन्धिखर्क-१ हटारीनेटामा रहेको युवाबर्ष जनता रविचित्र माध्यमिक विद्यालय कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट भएको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परिक्षण केन्द्रले गरेको मुल्यांकनमा रविचित्र मा.वि. स्कुलको व्यवस्थापकिय तथा शैक्षिक कार्यमा जिल्लामै उत्कृष्ट ठहरिएको हो ।
कार्यसम्पादनमा उत्कृष्ट भएपछि रविचित्र मा.वि.ले प्रोत्साहन स्वरूप ५ लाख रुपैयाँ पुरस्कार समेत हात पारेको छ । शैक्षिक गुणस्तर वृद्धि र चुस्त व्यवस्थापनमा हौसला मिलोस भन्ने हेतुले सरकारले उक्त राशी प्रदान गर्नेभएको हो । पछिल्लो समय सामुदायिक स्कुलको पढाई राम्रो नभएको भनी भैरहेको आलोचनालाई यो मुल्यांकनले गलत सावित गर्दिएको छ । सामुदायिक स्कुलमा आफुहरुले गरेको मिहिनेतको सरकारले गरेको सहि मुल्यांकनले आफुहरुलाई उत्साहित बनाएको विद्यालयका प्रधानध्यापक टेकराज आचार्यको प्रतिक्रिया छ । सामुदायिक विद्यालयको मा.वि.तर्फ उत्कृष्ट योगदान गर्न सफल रविचित्र मा.वि.मा अहिले ८ सय जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । कक्षा १ देखि ५ सम्म पुर्ण अङ्ग्रेजी माध्यम र ६ देखि ८ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गर्दै आएको यो स्कुलले कक्षा १२ सम्मको पढाई सन्चालन गर्दै आएको प्रधानध्यापक आचार्यले जानकारी दिनुभएको छ । सामुदायिक स्कुलप्रतिको दृष्टिकोण परिवर्तन नहुदा र सबैलाई एउटै श्रेणीमा राख्दा विश्वास दिलाउन निकै कठिन परेको उहाँको भनाइ छ । कक्षा १ देखि १० सम्म प्रत्येक कक्षामा शेक्सन बाडेर पढाउदै आएको रविचित्रले ९ जना निजिस्रोतका शिक्षकबाट समेत पठनपाठन गराउदै आएको छ । हटारीनेटामा रहेको यो स्कुलमा सन्धिखर्कको अलवा,चुत्राबेसी,ढिकुरा,नुवाकोट,खाचिकोट,नरपानी,वाङ्गला,डिभर्ना,अर्घा,किमडाडा लगायतका स्थानबाट समेत विद्यार्थीहरु पढ्न आउने गरेको विद्यालयले जनाएको छ ।