असार ५ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सिताबीना भारत र रामबीना नेपाल अपूर्ण हुने बताएका छन । अन्तर्राष्ट्रिय याेग दिवसकाे अवशरमा लुम्बिनी आयाेजित कार्यक्रममा बाेल्दै दुई देशबीचको पारस्परिक सम्बन्ध थप बलियाे बनाउनु आवश्यक रहेकाे बताएका हुन । २३०० बर्ष अघि देखि दुई देशको व्यापार सम्बन्ध रहेकाे बताउँदै मन्त्री किराँतीले साे समयमा नेपालबाट निर्यात हुने छाला, ऊन र जडिबुटी भारतमा प्रख्यात रहेकाे कौटिल्यशास्त्रमा उल्लेख रहेकाे स्मरण गरे ।हालै भएको सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणले त्यसलाई नयाँ उचाईमा पुनर्स्थापित गरेकाले अब दुई राष्ट्र बीच आर्थिक सम्बन्ध प्रधान हुंदै गएको बताए । हवाई रुट र भैरहवा विमानस्थलमा ILS संचालनका लागि भारत सरकार सकारात्मक रहेकाे बताउँदै उनले यसले दुई देशकाे सम्बन्ध थप प्रगाढ बनाउने बताए ।
साेही कार्यक्रममा बाेल्दै मन्त्री किराँतीले भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासंग जोडिएको र अहिले योग विश्वव्यापी लोकप्रिय हुँदै गएको बताए । महर्षी पतन्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरेपनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुकाे योगदान रहेकाे उल्लेख गर्दै मन्त्री किराँतीले गौतम बुद्धको नाम पनि अग्रपंक्तिमा आउने बताए । योगले धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसंग मात्र नभई मानवलाई बिश्व ब्रह्माण्ड र मानव कल्याणको साझा ज्ञान संग जोड्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवकाे सहभागिता रहेकाे थियाे ।