२६ बैशाख । कानुन दिवस एक विशेष समारोहका बीच मनाइएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरुसहितको उपस्थितिमा सो दिवस मनाइएको हो ।
सर्वोच्च अदालतद्वारा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा बोल्दै मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले सुदृढ, पहुँचयुक्त र जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकासमा कानुन दिवसले प्रेरणा प्रदान गरोस भन्ने कामना गर्नु भयो । उहाँले विधिको शासन तथा नागरिकको हक, अधिकारको संरक्षण तथा प्रत्याभूतिका लागि न्यायपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै स्वच्छ, निष्पक्ष, छिटो, छरितो एवम् गुणस्तरीय न्याय सम्पादन र प्रभावकारी सेवामार्फत् सुदृढ एवम् भरोसायोग्य न्याय प्रणालीको स्थापना र विकासका लागि आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भयो ।
मुख्य रजिष्ट्रार कुँवरले भन्नु भयो, ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिवद्ध रहँदै सुदृढ, निष्पक्ष र सक्षम न्यायपालिकाको प्रवद्र्धन गर्न एवम् सहज पहुँचयुक्त तथा जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको विशेष दिनले सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना समेत गर्दछु । न्यायिक इतिहास अत्यन्त कठिन परिस्थितिहरुमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य, मान्यताहरुलाई अक्षुण्ण राख्दै विधिको शासन तथा नागरिकका हक, अधिकारको संरक्षण र प्रत्याभूतिका लागि न्यायपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपालको संविधानले आत्मासात गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा संघीयतामा आधारित लोकतान्त्रिक शासन पद्धतिलाई व्यवहारमा रुपान्तरण गर्ने र शक्ति पृथ्कीकरण तथा संवैधानिक सर्वोच्चताको भावना अनुरुप कानुनको शासनको सुनिश्चितताका लागि न्यायपालिका सदैव संवेदनशील रहँदै आएको पनि सादर निवेदन गर्दछु । स्वच्छ, निष्पक्ष, छिटो छरितो एवम् गुणस्तरीय न्याय सम्पादन र प्रभावकारी सेवा प्रवाहमार्फत् सुदृढ एवम् भरोसायोग्य न्याय प्रणालीको स्थापना र विकासको लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न कानुन दिवसले हामी सबैमा थप ऊर्जा र हौसला प्राप्त हुने विश्वास समेत व्यक्त गर्दछु ।’
यसैबीच, कानुन व्यवसायीहरुले पनि सर्वसाधारणलाई छिटो, छरितो न्याय दिने गरी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका छन ।
सर्वाेच्च अदालतले आयोजना गरेको विशेष समारोहमा सहभागी नेपाल बार एशोशिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय नपाएर छटपटिएका सर्वसाधारणलाई छिटो न्याय दिने गरी काम गर्न कानुन व्यवसायीहरुलाई अपिल गर्नु भयो । उहाँले सबै कानुन व्यवसायीहरुलाई न्यायको पहुँचमा अभिवृद्धि हुनेगरी काम गर्नुपर्नेमा पनि जोड दिनु भयो ।
अध्यक्ष घिमिरेले भन्नु भयो, ‘कानुन व्यवसायी हामीहरु सबै मिलेर न्यायालयको पहुँचलाई माथि बनाउनका लागि अगाडि बढनु पर्दछ । तब मात्रै जनताले छिटो, छरितो न्याय पनि पाउँछन । सेवाग्राहीहरु जुन आज दशकौंदेखि न्याय नपाएर छटपटिराखेको, दैनिक रुपमा उनीहरु अदालतमा धाईराखेको अवस्था हामी देख्दछौं । यो हेर्दा हामीलाई कताकता आहात हुन्छ ।’
वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभाका पूर्वसांसद रामनारायण बिडारीले न्यायालयमा हुने गरेको भ्रष्टाचार नाश हुन भनि कामना गर्नु भयो । उहाँले सर्वसाधारणले शुलभ तरिकाले छिटो न्याय पाउने अवस्था सृजना गर्न न्यायालयहरुको ध्यानाकर्षण समेत गराउनु भयो ।
वरिष्ठ अधिवक्ता बिडारीले भन्नु भयो, ‘ती सबै भ्रष्टाचारीहरु नाश हुन । न्यायाधीशमा न्याय भावना जागोस् । र, कानुन व्यवसायीहरुले कानुनको सही ब्याख्या गरुन । सत्य प्रमाण मात्र जुटाउन । र, यसरी सर्वसाधारण जनतालाई शुलभ तरिकाले, सजिलो तरिकाले, छिटोछिटो न्याय प्रदान गरोस् । यो नै हाम्रो अभिलाशा हो ।’
त्यस अवसरमा वरिष्ठ अधिवक्ता बिडारीले कानुनको सही व्याख्या गर्न कानुन व्यवसायीलाई पनि आग्रह गर्नु भएको थियो ।