१६ बैशाख । महिला राजनीतिक कर्मीहरुले दल र नेतृत्वको दबाबले महिलाहरुले आफूलाई प्रमाणित गर्न नसकेको बताएका छन् । राजनीतिक पार्टीहरुको बन्धन, अडान र नेतृत्वको दबाबका कारण महिलाहरु अझैपनि आफ्ना अधिकारका विषयहरु उठान गर्नबाट पछि परिरहेको बताएका हुन् ।
उनीहरुले पदमा पुगेका महिलाहरुले समेत देशको समृद्धि, विकास र हीतको लागि बोल्न नसकेको बताए । महिलाको आफ्नो शरीरमाथि आफ्नो अधिकार विषयक शुक्रवार आयोजित कार्यक्रममा जनता समाजवादी, पार्टी नेपालकी नेतृ निर्मला यादवले अझैपनि महिला देशको अधिकार सम्पन्न पदमा पुग्न नसकेको र पुगेका महिलाहरुले पार्टीको परिबन्धनमा परेर महिलाको हक, अधिकारको बारेमा आवाज उठाउन नसकेको बताउनु भयो । उहाँले संसदको समानुपातिक प्रणाली श्रीमती राख्ने ठाउँजस्तो भएको बताउनु भयो । उहाँले महिलाले पाएको अधिकारलाई समाजमा लागू गराउन सबै महिला एकत्रित हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशको प्रधानमन्त्री अहिलेसम्म महिला भएको मैले थाहा पाएको छैन । राष्ट्रपति एक पटक बल्लबल्ल महिला आउनुभयो तर उहाँले महिलाका हक अधिकारका लागि कतिसम्म काम गर्न पाउनुभयो, कति काम गर्न दिए, त्यो कठिनाइ उहाँलाई नै थाहा छ । हामी दुई चार जना महिलाहरु ठाउँमा पुगेपनि सिम्बोलिक मात्रै पुग्छौँ । हामलि लडेर समानुपातिक समावेशी भन्ने कन्सेप्ट ल्यायौँ, अहिले तीन तहकै सरकारमा महिलाको उपस्थिति त देखाउँछ, महिलाको उपस्थिति एकदम राम्रो रहेको छ । तर ती महिलाले महिलाको हीतका लागि देशमा दिनुपर्ने योगदान दिन सकेको छ त ? देशको समृद्धि, विकास र हीतको लागि बोल्न सकेका छौँ त ? अहिले त समानुपातिक भनेको कस्तो भयो भने, श्रीमानले मान्यो भने श्रीमतीलाई दिने जस्तो भएको छ । हामीले त्यसकै लागि समावेशी समानुपातिक ल्याएका थियौँ र ? हामीले पाएको अधिकारलाई समाजमा लागू गराउन हामी महिला एकत्रित भएर लाग्नुपर्ने बेला भएको छ ।’
कार्यक्रममा नेपाल समाजवादी पार्टीकी सांसद सिर्जना रिजालले महिलाहरु एकत्रित भएर महिलाका हक, अधिकारको कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा महिलाहरु नै विभाजित रहेको भन्दै महिलाहरु एकत्रित हुन नसक्दा महिलाका हक अधिकार सुनिश्चित हुन नसकेको बताउनु भयो । उहाँले राजनीतिक पार्टीको दबाबले मनका कुरा पनि व्यक्त गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले पार्टीका पुरुष नेतृत्वहरुले आफ्नै घरमा भएका महिला हिंसाका बारेमा कुनै आवाज नउठाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हरेक विषयको सकारात्मक र नकारात्मक हुन्छ नै । हाम्रो समाजमा जे भइरहेको छ, हामीलाई भन्न अफ्ठ्यारो लागेको छ । तर वास्तविकता त्यही छ । महिलाहरु कसरी एकै ठाउँ बसेर महिलाका अक अधिकारको कार्यान्वयन गर्ने भन्ने बारेमा एकजुट हुन जरुरी छ । हामी नेपालमा हामी महिलाहरु विभाजित भएका छाँै, जसकारण पनि हाम्रो निस्कर्ष एउटै हुन सकेन । हामी कतै न कतै राजनीतिक पार्टीसँग पनि जोडिएका छौँ । सडकमा गएर बोल्न मन लागेको छ एउटा कुरा पार्टीले भन्छ अर्को कुरा । समस्या पर्छ नि । म के बोल्नु । म दोधारमा छु नि त । सडकमा एउटा पार्टीको बैठकमा एउटा भन्नुपर्छ । हाम्रो पार्टीका नेतृत्वहरु सडकमा महिलाका अधिकारका कुरा गर्नुहुन्छ, तर उहाँहरुको घरमै महिला हिंसा भयो भनेर कति मुद्दा परेका छन् । सडक, सदन र पार्टीको बैठकमा बोल्ने भाषा फरक छ ।’
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) की नेतृ पार्वती विशुन्खेले नेपालले बाहिरि मुलुकको समाजवाद भित्र्याएर देशको विकास हुन नसक्ने बताउनु भयो । उहाँले बाहिरि मुलुकको जस्तो समाजवाद नेपालमा भित्र्याउँदा आवश्यक वर्ग र समुदाय समेटिन नसक्ने बताउनु भयो । उहाँले प्रकाश सपुतको गीत साकम्बरी महिलाहरु नै यो समाजका लागि नालायक छन् भन्नेगरी ल्याइएको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको परिवेशमा समाजवाद भनेको वर्गले मात्रै होइन, विविध खालका शोषणहरु छन् । जातिय विभेदका कुरा छन्, त्यसको उठान भएका छैनन् । रुस तिरको समाजवाद देखाएर नेपालमा लागू गर्न खोजेका छौँ, त्यसले जुन वर्गका लागि ल्याउनुपर्ने हो त्यो छुट्छ, हामी त्यसको बिरुद्धमा जानुपर्छ । साकम्बरीको कुरा गर्दा महिलाहरु नै यो समाजका लागि नालायक छन् जस्तो गरी ल्याइएको छ, जुन पुरुषको काम लुकाइएको छ । यो भनेको समाज र महिलाप्रति हेर्ने दृष्टिकोण र व्यवहारसँग सम्बन्धित हुन्छ ।’
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की नेतृ पार्वती थापाले महिलाको हकहीतको लागि लडेको मानिसलाई छुवाछुतको व्यवहार गर्नु नहुने बताउनु भयो । उहाँले माओवादी जनयुद्धमा हिँड्दा अछुतो व्यवहार गर्ने स्थितिबाट आन्दोलनको उपलब्धीले नै यो अवस्थामा आइपुगेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जुनसुकै विचार, पार्टीमा लागेर होस् वा स्वतन्त्र रुपमा आन्दोलन गर्ने व्यक्ति किन नहोस्, जुनसुकै ठाउँबाट आन्दोलन गरेपनि यदी महिलाको हकहीतको लागि लडेको छ भने त्यसलाई किन छुवाछुतको व्यवहार गर्ने ? माओवादी जनयुद्धताका हामीलाई अछुतो व्यवहार गरिन्थ्यो । परिवारका सदस्यलाई नै डोमिनेट गर्दथे । विचारले हामीलाई फरक पारेको छ, विचारमा हामी एकसाथ नहोउन्जेलसम्म महिलाका हक अधिकारसम्बन्धी काम गर्न सक्दैनौँ ।’
नेतृ थापाले महिलाहरु विचारमा एकसाथ नहुन्जेलसम्म महिलाका हक, अधिकारहरु सुनिश्चित गर्न नसकिने बताउनु भयो ।