[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा उक्त रकम उपलब्ध गराइएको थिएन । प्रदेशका १२ जिल्लामा एक लाख ३९ हजार ५९३ जना संक्रमित भएको र ३ हजार ४०७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । यीमध्ये ९६४ जना मृतकका परिवारले राहत पाउन सकेका छैनन् ।
तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले २०७६ साल चैत १० गते बसेको मन्त्रिपरिषद बैठकले तत्काल १० करोड रुपैयाँ जम्मा गरी कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले विभिन्न कारणले राहत वितरणमा ढिलाइ भएको दर्पण पोस्ट अनलाइन लाइ बताएका छन। ‘लामो समयदेखि स्थानीय तह, जिल्ला प्रशासन तथा प्रदेश स्वास्थ्य मन्त्रालयबीच समन्वय हुन नसक्दा निर्णय गरे पनि पीडित परिवारले राहत पाउन सकेका थिएनन । अहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने तयारी गरिएको छ’ उनले भने ।
लुम्बिनी सरकारका मुख्यमन्त्री लिला गिरीले स्वास्थ्यमन्त्री विष्णु पन्थी र सम्बन्धित सचिवहरुलाई यस विषयमा तत्काल प्रक्रिया अगाडि बढाउनु भन्दै निर्देशन दिएसंगै यो प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
सरकारले २०७७ साल जेठ २० गतेको मन्त्रिपरिषद् बैठकबाट कोभिड संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्री विष्णु पन्थीले अहिले रकम वितरण गर्दा केही रकम अपुग हुने र बाँकीलाई रकम माग गरेर दिने बताए ।
कोभिड संक्रमण महामारीको रूपमा देशभर एकैपटक फैलिँदा सबभन्दा बढी रकम आइसोलेसन एवं अस्पताल निर्माण र सञ्चालनमै खर्च भएको थियो । मृतकका परिवारले भने सरकार आफैंले घोषणा गरेको राहत रकम दिन ढिलाइ गरेको भन्दै गुनासो गर्दै आएका थिए ।
सरकारले उपलब्ध गराउने राहत भुक्तानीको लागि कोभिड परीक्षण पुष्टि भएको र कोभिड संक्रमणका कारण निधन भएको भनी सरकारी चिकित्सकले प्रमाणित गरेको मृत्यु प्रमाणपत्र चाहिन्छ । यसबाहेक मृतक र नातेदारको सम्बन्ध खुल्ने कागजात र स्थानीय तहले मृतकको कोभिड १९ बाट निधन भएकाले राहत उपलब्ध गराइदिन गरेको सिफारिस पत्रसमेत आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री पन्थीका अनुसार मन्त्रालयले प्रदेशका सबै जिल्लाबाट माग भएबमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको छ ।
रुपन्देहीमा मृतकहरुको संख्या धेरै रहेकाले केही रकम अपुग भएको उल्लेख गर्दै मन्त्री पन्थीले अर्को चरणमा अपुग रकमको निकाशा गरिने जानकारी दिनुभयो । रुपन्देहीमा ९८६ जनाको कोभिडको कारण मृत्यु भएको तथ्यांक छ । रुपन्देहीपछि दाङमा ४११ जनाको मृत्यु भएकोमा २८२ जनाका परिवारले राहत पाए । बाँकेमा ३९१ जना मृतकमध्ये ३९ जनाका परिवारले राहत पाउन सकेका छैनन् । गुल्मीमा २९३ जना मृतकमध्ये १२६ जनालाई राहत दिन बाँकी छ । पाल्पामा ४०, बर्दियामा ६२, कपिलवस्तुमा १९, पश्चिम नवलपरासीमा ४७, प्यूठानमा ३२, अर्घाखाँचीमा ४७, रोल्पामा २३ र रुकुम पूर्वमा २ जना मृतकका परिवारले राहत रकम पाएका छैनन् ।
तत्कालीन समयमा कोभिडबाट मृत्यु भएका परिवारले आवश्यक कागजपत्र जुटाउन नसक्दा तथ्यांकमा फरक परेको थियो । यसले पीडितहरुले गुनासो गरेका थिए ।