ज्ञानेश्वर सहानी/ नवलपरासी ,पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालय नवलपरासीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १ महिनाको अवधीमा ७९ लाख २७ हजार १ सय ८९ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको सक्रियता बढेपछि चिनी , लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स र कुखुरा लगायतका अवैध सामानहरू बरामद हुन थालेका छन् । गत १ महिनाको अवधीमा ७९ लाख २७ हजार १ सय ८९ मुल्य बराबरको राजश्व दाखिला भएको हो ।
मिति २०७९।१०।२७ गते देखि मिति २०७९। ११। ३० गते सम्म अबैध सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय तथा राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
जिल्लामा चालू आर्थिक वर्षमा ८ महिनाको अवधिमा ५ करोड १४ लाखका राजस्व असुली भएको हो । माघ देखि हालसम्म ९१ फरार प्रतिवादीलाई कानुनको दायरामा ल्याइएको छ ।
जिल्ला अदालतको बिभिन्न मितिको आदेशका अनुसार कैद तथा जरिवाना फैसला भई फरार रहेका फरार प्रतिबादीहरुलाई पक्राउ गरि कैद तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत कार्यालयले पठाएको सुचना अधिकारी पाण्डेयले बताउनु भएको हो ।
यसैगरी जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भइ आएका प्रहरी उपरीक्षक विनोद शिलवालले माघ २७ गते देखि हालसम्म गरेको गतिविधि र क्रियाकलाप बारे जानकारी गराउनु भएको हो ।
प्रहरी प्रमुख शिलवालले जिल्लामा आएको एक महिनाको अवधिमा अपराधको अवस्था र चुनौतीबारे जानकारी गराउदै खुला सिमाना र पुर्व/पश्चिम राजमार्गबाट उत्पन्न असहज अवस्था न्यूनीकरण गर्न नागरिक सङ्ग समन्वय गरि अगाडि बढ्दै नागरिक मैत्रीको अवधारणालाई आत्मसात गरेको जानकारी दिनुभयो ।
घरेलु र महिला हिंसा न्यूनीकरण गर्ने कार्यालाइ प्राथमिकताका साथ अगाडि बढाइएको र आत्महत्या न्यूनीकरण गर्ने कार्यलाई जनचेतनामूलक कार्यक्रमबाट रोकथाम गर्ने कार्यबारे पनि जानकारी गराउनु भएको थियो ।
पश्चिम नवलपरासीमा २० को सङ्ख्यामा प्रहरी युनिट रहेकोमा सबै युनिटसङ्ग समन्वय गरि आर्थिक वर्ष ०७९/८० सालमा अपराधका मुद्दा दर्ता गर्ने कार्यमा कमि आएको जानकारी गराउदै जिल्लामा फरार प्रतिवादीलाई नियन्त्रणमा लिने कार्य पनि प्रहरीले अगाडि बढाएको जानकारी गराउनु भयो ।
विशेष गरी रातको समयमा प्रहरी गस्ती बढाएपछि अबैध कारोबारीहरूले प्रहरीलाई झुक्याएर बिहान र दिउँसोको समयलाई प्रयोग गर्न थालेपछि अहिले विशेष टोली खटाएर अबैध समानहरू नियन्त्रणमा लिन थालेका प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।