दुर्गा प्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु।‘विपन्न समुदायका लागि आशा’ भन्ने मुल नाराका साथ आशा लघुवित्त वित्तीय संस्था लिमिटेड वाणगंगा – ७ बनगाई कपिलवस्तुले आफ्ना सेवा क्षेत्रका सम्पूर्ण सदस्यहरूलाई १ दिने वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । संस्थामा आबद्व भएका सदस्यहरूलाई आत्मनिर्भर बनाउन थप सहयोग गर्न र संस्थाप्रति सकारात्मक सोचको विकास गर्न तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ । ८० जना सहभागी रहेको उक्त तालिमको सहजीकरण विभागिय प्रमुख रविन खतिवडाले गरेका थिए ।
आशा लघुवित वित्तीय संस्था २०७३ साल बैशाख ०५ गते विधिवत दर्ता भई आफ्नो कारोबार सुरुवात गरी २९ वटा जिल्लामा ५५ शाखा रहेको छ । हाल ५७ कार्यालय रहेको उक्त लघु वित्तीय संस्थामा कुल ६ हजार १ सय ९० केन्द्र संख्या रहेको छ भने कुल सदस्य संख्या ७५हजार ८ सय रहेको छ । त्यस्तैगरी संस्थाले प्रदान गरेका अति महत्वपूर्ण सेवाहरू बचत कर्जा , रेमिट्यान्स सेवा, (विप्रेषण)जस्ता सेवाहरू सहजै उपलब्ध गराउँदै आएको बताउँदै कर्जाका प्रकार, ग्राहक संरक्षण कोषबाट सदस्यहरूलाई प्रदान गरिने सेवा तथा सुविधाको वित्तीय साक्षरता सम्बन्धि महत्वपूर्ण जानकारी मुलक डकुमेन्ट्री समेत पेश गरिएको थियो ।
यसै बीच संस्थाले केन्द्र नं. २९ को लगनशील महिला समूह प्रथम हुन सफल भएको भन्दै सम्मान पत्रसहित नगद ५ हजार प्रदान गरेको छ भने द्वितीय ,तृतीय ,र सान्त्वना स्थान हासिल गर्नेहरूलाई पनि स्थान अनुसारको सम्मान गरेको छ । त्यस्तैगरी कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याउन सफल एक विद्यार्थीलाई पनि नगद २ हजार प्रदान गरेको छ । कार्यक्रममा बोल्ने अतिथिहरूले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका थिए । शान्त सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा बद्री अधिकारीको प्रमुख आतिथ्यतामा महेश गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।