मिना गैरे, मंसिर १ । प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनप्रति सबैको चासो बढेको छ । चाहे चिया पसल होस चाहे कुनै सार्वजनिक स्थल हरेक स्थानमा अब आउँने नेतृत्वका विषयमा नै चर्चा हुन थालेको छ । देश फेर्ने निर्वाचन अन्तिम अवस्थामा आईपुग्दा धेरैको ध्यान यसतर्फ नै केन्द्रित हुनु कुनै नौलो विषय होईन ।
नेपालमा सामाजिक सञ्जालदेखि हरेक स्थानमा अब आउँने नेतृत्वका विषयमा चर्चा हुन थालेको छ । जनताहरुले अब युवाको र सामाजिक कार्य तथा देश र जनताको कल्याणका लागि कार्य गर्ने नेतृत्वको खाँचो रहेको बताउँछन् । जनताहरुले चाहेको नै जनताको प्रतिनिधी हो न कि आफ्नो स्वार्थपूर्तिका लागि सत्तामा पुग्ने अनि जनताको रगत पसिना चुस्ने ।
लामो समयदेखि देशमा एउटा असल, कुशल नेतृत्व र शासनप्रणालीका संवाहक नहुँदा नेपाली जनताहरु पछुताउनु परेको कुरा त सबैमाझ छर्लङ्ग भएको विषय हो । एउटा गलत नेतृत्व चयन गर्दा जसरी एउटा संगठन टाट पल्टन्छ, त्यस्तैगरी गलत उम्मेदवार चयन हुँदा मुलुकको अवस्था नै दयनीय बनेको छ । नेपालमा चाहिएको दिगो, चौतर्फी विकास हो न कि काजगी विकास भन्ने कुरा सबैले मनन र बुझ्नु अत्यावश्यक छ । अब निर्वाचन हुन २ दिनमात्र बाँकी रहँदा जनता र उम्मेदवार सबै निर्वाचनप्रति उत्साहित रहेको देख्न सकिन्छ । यो उत्साहले पक्कै पनि परिवर्तनको ईतिहास लेख्ने छ भन्ने कुरा त स्थानीय तह निर्वाचनका केही परिणामहरुबाट छर्लङ्ग भईसकेको छ ।
नेपाल एक विकासोन्मुख मुलुक हो र नेपालको हालको अवस्था हेर्दा मुलुकको समग्र विकासमा केही दशक लाग्ने कुरा निश्चित छ । अझ त्यसमाथि जिम्मेवार पदमा योग्य व्यक्ति पुग्न नसकेको अवस्थामा मुलुकको सर्वाङ्गीण विकास त्यही उम्मेदवारका घोषणापत्र र कागजहरुमा शताब्दीसम्म पनि यथावत् रहनेछन् जुन वास्तविकता बन्लान् भन्ने परीकथा मात्र हुनेछ, केटाकेटीले सुन्दा रमाईलो मान्ने पाटोजस्तो ।
हाल नेपालको परिवेशमा आवश्यकता भनेको समग्र मुलुकको अवस्थालाई मध्यनजर गरी समग्र क्षेत्रको विकासमा कुशल नेतृत्व लिन सक्ने व्यक्तित्व हो । राजनीति मूलुकको ऐना फेर्ने माध्यम हो तर केही व्यक्तित्वहरुका कर्तुतका कारण आज नेपाली राजनीतिक क्षेत्र र नेपाली जनता रोईराखेको अवस्था सिर्जना भएको छ । यो नेपालजस्तो विकासोन्मुख मुलुकका लागि अति गम्भिर तथा चिन्ताजनक विषय हो । निर्वाचन नेतृत्व चयनको एकमात्र माध्यम भएको हुँदा निर्वाचनमार्फत नै विद्यमान रहेका अकुशल तथा गलत नेतृत्व÷शक्तिलाई परास्त गर्न सकिन्छ । तसर्थ सबै मतदाताहरुले मुलुकको आवश्यकतालाई ध्यानमा राखी समग्र विकास, समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने नेतृत्व चयन गर्नु अत्यावश्यक छ । यो पनि भन्न सकिन्छ कि, एउटा जनताको प्रतिनिधी जनताको हितमा लाग्ने हुनुपर्छ । चुनाव आएका बेला पाउमा लम्पसार पर्ने र चुनाव जितिसकेपछि जनतालाई नचिन्ने नेतृत्वलाई परास्त गरी देश, जनता र समग्र मुलुकको विकास र संवृद्धिको धारणा राखी त्यही मार्गमा दत्तचित्त, ईमान्दार, दृढ संकल्पका साथ मुलुकको उत्थानमा लाग्ने महान व्यक्तित्वलाई नै मतदान गरी गरिमामय पदमा पुर्याउनु आवश्यक छ ।