मनजीत चौधरी, तिलोत्तमा । २१ असोज । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीले शुक्रबार उम्मेदवार घोषणा सभा तथा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । उक्त कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं. मंगलापुर स्थित कबिराज भवनमा सम्पन्न भएको हो ।
पार्टीले पत्रकार सम्मेलन गरी आसन्न निर्वाचन २०७९ मंसिर ४ का लागि प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । पार्टीको प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं. ०१ बाट प्रत्यक्ष उम्मेदवार दल बहादुर थापा, ०२ बाट केशव सूर्यवंशी, ०३ बाट मोजिब अली, ०४ बाट जोहर अली र क्षेत्र नं. ०५ बाट पुर्ण बहादुर पुन रहेका छन् । त्यस्तै प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं. ०१’क’ बाट प्रेम बहादुर थापा र ‘ख’ बाट रेखाप्रसाद चौधरी, क्षेत्र नं. ०२’क’ बाट बिमला गुरुङ्ग र ‘ख’ बाट छत्र दर्लामी, क्षेत्र नं. ०३’क’ बाट प्रेम बहादुर गुरुङ्ग र ‘ख’ बाट मिन बहादुर पल्ली, क्षेत्र नं. ०४’क’ बाट राकेश हरिजन र ‘ख’ बाट गायत्री चाई एवं निर्वाचन क्षेत्र नं. ०५’क’ बाट लिल बहादुर दर्लामी र ‘ख’ बाट सुदर्शन यादव रहेका छन् ।
कार्यक्रमको विषयवस्तु माथि प्रकाश पार्दै पार्टीका जिल्ला अध्यक्ष प्रेम बहादुर थापाले प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारहरुको नामावली मनोनयन दर्ता असोज २३ गते हुने जानकारी गराउँदै प्रत्येक निर्वाचन क्षेत्रको मनोनयन दर्ता आआफ्नै निर्वाचन क्षेत्रमा हुने प्रष्ट पार्नुभयो । जिल्ला अध्यक्ष थापाका अनुसार निर्वाचन क्षेत्र नं. ०१ को मनोनयन दर्ता देवदहको शीतलनगर, ०२ को बुटवल, ०३ को भैरहवा, ०४ को मझगावा कोटहीमाई र निर्वाचन क्षेत्र नं. ०५ को गैडहवामा मनोनयन दर्ता हुने भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका केन्द्रीय महासचिव टोप अस्लामीले राजनीतिप्रति विश्वसनीयता स्थापित गर्न र देशमा विद्यमान रहेका बिभिन्न बेथितिहरुको अन्त्य गर्दै देश समृद्ध बनाउन जनमुक्तिलाई भारी मतले जिताउनुपर्ने औल्याउदै इमान्दार राजनीतिका लागि जनमुक्ति विचारधारा नै आजको विकल्प रहेको दाबी गर्नुभयो । पार्टी महासचिव अस्लामीले जनमुक्ति सत्तामा पुगेको खण्डमा राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमा समावेश गरिएका एजेण्डा एवं प्रतिबद्धताहरु कार्यान्वयन नगरी जनताको मतको कदर नगरे साधारण जनताले समेत अदालतमा मुद्दा हाल्न पाउँने नीतिनियम निर्माण गर्ने प्रष्ट पार्नुभयो । जनमुक्ति पार्टी लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै आएको पार्टी रहेको बताउँदै महासचिव अस्लामीले राज्यकोष दोहन गरी भ्रष्टाचार गरेको ठहरिएमा भ्रष्टाचारीलाई कम्तीमा २० वर्ष जेल सजाय र भ्रष्टाचारको स्वरुप हेरी सजाय थप्नुपर्ने र भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने जिकीर गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव मोजिब अली, केन्द्रीय सदस्य बिमला गुरुङ्ग, लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्ग, मगरहाङ्गका केन्द्रीय अध्यक्ष छत्र दर्लामी, पार्टी सूचना विभाग प्रमुख रोशन अस्लामी, जनमुक्ति युवा संघ केन्द्रीय उपाध्यक्ष दल बहादुर थापा, नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षता, जिल्ला महिला उपाध्यक्ष पार्वती घर्तीको स्वागत र सचिव दिलु गुरुङ्गको संचालनमा सम्पन्न भएको थियो ।