मनजित चौधरी, तिलोत्तमा । असोज २१ । श्री संगम सहारा युवा क्लब तिलोत्तमा नगरपालिका वडा नं. १० सगरहवाद्वारा विजयादशमीको उपलक्ष्यमा साँस्कृतिक नृत्य, दंगल, दुर्गा विसर्जन तथा मेला समारोह बुधबार सम्पन्न भएको छ ।
धार्मिक आस्था बोकेको रोहिणी नदीको काखमा लगातार दुई दिन लाग्ने सगरहवा साँस्कृतिक मेला हरेक बर्ष बिजयादशमीको अवसरमा लाग्ने गर्दछ । रुपन्देहीकै चर्चित सगरहवा मेलामा नेपाल लगायत छिमेकी मुलुक भारतबाट समेत पहलमानहरु दंगल खेलमा भाग लिन आउने गर्दछन् । मेलाको दिनमा छेउछाउका बिभिन्न गाउँहरुबाट पवित्र मानिएको रोहिणी नदीमा ६० देखि ७० वटा दुर्गाको मूर्ति विसर्जन गर्न ल्याइने गरिन्छ । तर यो बर्ष भने लगातार भारी बर्षाका कारण सगरहवा मेलाको चहलपहलमा केही कमी देखिएको थियो । क्लबका अध्यक्ष कनई थारुले यो बर्षको सगरहवा साँस्कृतिक मेला विगतका बर्ष भन्दा भव्य रुपमा आयोजना गरिएको भएतापनि प्रकृतिले साथ नदिदाँ मेला सोचेँजस्तो हुन नसकेको बताउनुभयो ।
मेला समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वर देवी चौधरीले सगरहवा मेला ऐतिहासिक एवं तिलोत्तमाकै गहना रहेको बताउँदै सगरहवा गाउँको छेवैबाट बगेर आएको रोहिणी नदीमा बिभिन्न गाउँ टोलबाट दुर्गा विसर्जन गर्न आउने भएको हुँदा मेलाले सबै क्षेत्रका मानिसहरुसंग आत्मीयता र सद्भाव कायम राखेको जिकीर गर्नुभयो । उपमेयर चौधरीले सगरहवा मेलामा हुने दंगल खेलमा भाग लिन नेपाल लगायत छिमेकी मुलुक भारतबाट समेत पहलमानहरु आउँने भएको हुँदा मेलाले दुई देशको सम्बन्ध पनि प्रगाढ बनाएको दाबी गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. १० का पूर्व वडाध्यक्ष एवं बरिष्ठ समाजसेवी सगरहवा निवासी व्यासमुन चौधरी, नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरी, थारु पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष मनजीत चौधरी लगायतको उपस्थिति रहेको थियो । उक्त समारोहमा बिभिन्न साँस्कृतिक झाँकीसहित स्थानीय कलाकारहरुले बेजोड नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम क्लबका अध्यक्ष कनई थारुको अध्यक्षता, उपाध्यक्ष चन्दन थारुको स्वागत र पत्रकार राज चौधरीको संचालनमा सम्पन्न भएको थियो ।