मनजीत चौधरी, देवदह । १८ असोज । देवदह स्थित श्री आभूषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार देवदह नगरपालिका वडा नं. ११ शंकरपुर स्थित श्री शंकर आधारभूत बिधालयको प्राङ्गणमा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं थारु कल्याणकारिणी युवा सभा रुपन्देही अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं. ०१ प्रतिनिधिसभाका प्रस्तावित प्रत्यक्ष उम्मेदवार धनिराम चौधरीले अहिलेको आधुनिक युग सहकारीमय भइसकेको बताउँनुभयो । उहाले आभूषण सहकारी संस्थाले बिमा कम्पनीसंग सहकार्य गरेर स्थानीय गरीब जनता एवं किसानहरुलाई लक्षित गरी प्रत्येक शेयर सदस्यहरुको जीवन बिमा नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै प्रस्तावित उम्मेदवार चौधरीले सम्पूर्ण जनसमुदाय आफ्नो पहिचान र अधिकारका लागि समेत गोलबद्ध हुनुपर्ने बताउँदै आफु प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार रहेको हुँदा चुनाव चिन्ह ढकियामा छाप लगाएर आफुलाई विजयी गराउन समेत आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं नागरिक उन्मुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं. ०१’क’ प्रदेश सभाका प्रस्तावित प्रत्यक्ष उम्मेदवार तथा समाजसेवी डा. सरोज सिंह थारुले थारु समुदाय हरेक क्षेत्रमा पछि परेको हुँदा आफ्नो समुदायको अधिकार संबैधानिक रुपमै सुनिश्चित गर्नका लागि आफु राजनीतिमा होमिएको बताउँदै उपस्थित जनसमुदायमाझ नागरिक उन्मुक्ति पार्टीको ढकिया चुनाव चिन्हमा छाप लगाएर सहयोग गर्न अपिल गर्नुभएको थियो ।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रामकुमार चौधरी, नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका सचिव बिजय बहादुर सिंह थारु, सत्यदेव चौधरी लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष बासुदेव थारुको अध्यक्षता, उपाध्यक्ष रुप नारायण थारुको स्वागत र सचिव धनिश्वर चौधरीको संचालनमा सम्पन्न भएको थियो ।