१५ असोज । आज ३२ औँ ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइृएको छ । ज्येष्ठ नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरीकका हक अधिकारका विषयमा कार्यक्रम गरीएका छन् । यो वर्ष संयुक्त राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने मूल विषय निर्धारण गरेको छ ।
३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अक्टोबर १ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ । भण्डारीले ज्येष्ठ नागरिकहरू आफ्नो जीवनभरको संघर्ष र भोगाइहरूबाट आर्जित ज्ञान, सिप र अनुभवका खानी भएको भन्दै उहाँहरूको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरूमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार‚ समाज र राज्यको सामूहिक प्रयास आवश्यक रहने उल्लेख गर्नुभयो ।
भण्डारीले ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य विमा‚ सामाजिक सुरक्षा भत्ता लगायतका सेवा र सुविधाहरूको व्यवस्था गरेको जानकारी गराउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्नुका साथै ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूलाई थप विस्तार गर्दै लैजान सबैको ध्यानाकर्षण गराउनुभयो ।
भण्डारीले ज्येष्ठ नागरिकप्रति संवेदनशील मूल्य र मान्यतालाई आत्मसात गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हामी सबैको कर्तव्य रहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको हो ।