कर्मचारी आन्दोलनमा
१३ असोज । पाल्पा जिल्लाको रैनादेवी छहरास्थित सर्देवामा सिमेन्ट उत्पादन गर्ने गरि काम गरिरहेको चौधरी ग्रुपले कामदारलाई तलब नदिएको भन्दै कम्पनीमा कर्मचारीहरुले तालाबन्दी गरेका छन । दुई महिनादेखि तलब नदिएको र चार्डपर्वको समयमा कम्पनीले काम गरेको पैसा दिन नमानेको भन्दै कामदारले दुई दिनदेखि कम्पनीमा तालाबन्दी गरेका हुन् ।
कामदारले आफ्नो श्रमको ज्याला नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय समेत रहेका आन्दोलनकर्मी हेमन्त नेपालले बताउनुभयो । नेपालले आफुहरूले कम्पनीलाई सहयोग गर्दै आएको र भोलिपनि सहयोग गर्ने बताए ।
कम्पनीको भनाइ भने फरक छ । कम्पनीका प्रोजेक्ट म्यानेजर यसपाल शर्माले कामदारको पैसा बाँकी नरहेको र केही बाँकी भएको भएपनि केही दिनमा मिलाउने दावी गर्नुभयो ।उहाले ‘हामीले ३१ करोड रकम भुक्तानी दिईसकेका छौँ ” भन्नुभयो ।
उहाले हामीले सम्झौता गरेको कम्पनी आयोकी फेब्रीकेट हो र उसले पैसा लगिसकेको र फेरि पनि केही बाँकी रहेको भए भने मिलाउने बताउदै बैंकिङ ‘लोन’ को प्रक्रियाले गर्दा समयमै पैसा नआएर पनि समस्या देखिएको उल्लेख गर्नुभयो ।
तर, आन्दोलनकर्मीहरूले भने कम्पनीले ठेकेदार कम्पनीलाई पैसा नदिएको हुनाले आफुहरूले पैसा नपाएको गुनासो सुनाएका छन ।
१३ अर्ब ७६ करोड कुल लगानीको उक्त कम्पनीमा ११ अर्ब ५० लाख बढी लगानी भैसकेको कम्पनीले जनाएको छ । कम्पनीमा नेपाली र बिदेशी गरि विभिन्न तहमा ७ सय बढी कर्मचारी कार्यरत छन् । तीन बर्ष अघि सुरु भएको प्रोजेक्ट अन्तिम अवस्थामा पुगेको र ‘पावर प्लाण्टेसन’ पछि उत्पादन सुरु हुने प्रोजेक्ट म्यानेजर यसपाल शर्माले बताउनुभयो ।