मनजीत चौधरी, तिलोत्तमा । असोज ११ । राष्ट्रिय जनमुक्ति पार्टीको भातृसङ्गठन बाग्लुङ्ग तराई सम्पर्क मञ्चको सोमबार तिलोत्तमा नगरपालिका वडा नं. ०९ स्थित कबिराज भवनमा बिशेष बैठक सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले बाग्लुङ्ग जिल्ला मगर लगायतका ८० प्रतिशत आदिवासी जनजातिहरुको भूमि रहेको जानकारी दिनुभयो । उत्पीडनमा परेका आदिवासी जनजाति लगायतका समुदायको हक अधिकार र पहिचानका लागि विगत तीन दशकदेखि संघर्ष गर्दै आएको पार्टी जनमुक्ति नै रहेको बताउँदै प्रदेश अध्यक्ष गुरुङ्गले अब बाग्लुङ्ग जिल्लामा पार्टीले आफ्नो नीति र सिद्धान्तको व्यापक प्रचार गर्दै झण्डा गाडेरै छोड्ने दाबी गर्नुभयो ।
पार्टीका लुम्बिनी प्रदेश सचिव एवं रुपन्देही इन्चार्ज चित्र प्रसाद गुरुङ्गले १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट सतप्रतिशत उम्मेदवार उठाउने पार्टीको नीति रहेको जनाउँदै पार्टीको जग नबसेको क्षेत्रमा समेत उम्मेदवार उठाएर पार्टीको विचार र सिद्धान्तलाई फैलाउने पार्टीले प्रचारात्मक अभियान चलाएको बताउनुभयो । त्यस्तै पार्टीका रुपन्देही अध्यक्ष प्रेम बहादुर थापाले बाग्लुङ्गबाट बसाई सरी रुपन्देहीमा बसोबास गर्दै आएकाहरुलाई कुनै समस्या वा अप्ठ्यारो परेको खण्डमा बाग्लुङ्गसंग प्रत्यक्ष सम्पर्क बढाइराख्ने र सम्बन्ध सुदृढ गर्दै लैजाने मञ्चको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
बैठकमा उपस्थित तिलोत्तमा नगरपालिका वडा नं. ०७ निवासी यम बहादुर श्रीस र ति.न.पा. १६ निवासी धन बहादुर थापाले पार्टी प्रवेश गरी पार्टी सदस्यता लिएको पार्टी रुपन्देही अध्यक्ष प्रेम बहादुर थापाले जानकारी दिनुभएको छ ।
नवप्रवेशीहरुलाई पार्टीका निवर्तमान केन्द्रीय संगठन सचिव के.बी. पुनले सदस्यता वितरण गर्नुभएको थियो भने पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गद्वारा खादा ओढाई सम्मान गरिएको थियो । मञ्चको बिशेष बैठकले बाग्लुङ्ग तराई सम्पर्क मञ्चको जन्मथलो बाग्लुङ्ग जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ मा प्रतिनिधिसभा सदस्यको लागि २ जना प्रत्यक्ष उम्मेदवार चयन गरी आगामी आश्विन २३ मा उम्मेदवारी मनोनयन दर्ता गरेर प्रचारप्रसारका लागि पठाउने निर्णय गरेको छ । त्यस्तै बैठकले मञ्चका अध्यक्ष नरसिंह काउचा शारीरिक अस्वस्थताका कारण हिँडडुल गर्न असक्त रहेको हुँदा मञ्चका सदस्य मन बहादुर पुनलाई अध्यक्ष साथै पार्टीमा नवप्रवेशी धन बहादुर थापालाई उपाध्यक्ष र यम बहादुर श्रीसलाई सदस्यमा चयन गरेको छ ।
बैठक मञ्चका कार्यवाहक अध्यक्ष गोरख काउचाको अध्यक्षता र सदस्य भोम बहादुर बुढा मगरको संचालनमा सम्पन्न भएको थियो ।