१० असोज । आज बडादशैको पहिलो दिन घटस्थापना । आजदेखी नेपाली हिन्दु धर्मावलम्बीहरुको नवरात्री अर्थात दशै पर्व सुरु भएको छ ।
वडा दशैको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना दिनुभएको छ । “वडा दशैको पहिलो दिन घटस्थापनाको शुभ अवसरमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं समृध्दिको हार्दिक शुभ कामना व्यक्त गर्दछु” देउबाले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ ।
आजको दिन जमरा राख्ने र घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गर्ने शास्त्रीय परम्परा रहिआएको छ ।
आजदेखी नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।
आज आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकै, गौ छर्ने गरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।