१० असोज । आज आस्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापना । आजदेखी नेपाली हिन्दु धर्मावलम्बीहरुको नवरात्री अर्थात दशै पर्व सुरु भएको छ ।
आजको दिन जमरा राख्ने र घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गर्ने शास्त्रीय परम्परा रहिआएको छ ।
आजदेखी नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।
आज आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकै, गौ छर्ने गरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।
जमरा माता भगवतीलाई मन पर्ने वनस्पतिमा एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।
जमरा भएको स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण कलशको वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरि घडाको वरिपरि जौ पनि गाडिने गरिन्छ। जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआराधना गर्ने गरिन्छ ।
हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो । यसैले दशैंको अवसरमा आ-आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा-उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने मान्यता रहेको छ ।
ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश गरि ९ नवदुर्गाहरू वर्णन गरिएका छन । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको वर्णन गर्दछन ।