३१ भाद्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन भने भएको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै थाहा छैन ।
स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु परीक्षण शुल्क मनपरी रूपमा लिएको भन्ने गुनासो आएपछि डेङ्गु परीक्षण शुल्कमा एकरूपता ल्याउने निर्णय भएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा विज्ञसहितको टोलीको भदौ २१ गते सम्पन्न बैठकले तीन दिनदेखि एक सातासम्म डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय भएको १० दिन बितिसक्दा पनि मन्त्रालयले डेङ्गु परीक्षण शुल्कमा एकरूपता ल्याउन सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।